भारतको दार्जलिङस्थित कालपोखरी सीमा क्षेत्रमा ड्रोन क्यामेरा उडाएको आरोपमा दश जना नेपाली पक्राउ परेका छन्।
अनुमतिविना सीमा क्षेत्रमा ड्रोन उडाएको आरोपमा प्रहरीले गत आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालय इलामका अनुसार उनीहरूले नेपाल वा भारतबाट अनुमति नलिई ड्रोन उडाएको पाइएको छ।
सीमा क्षेत्रमा कार्यरत सशस्त्र सीमा बलका अधिकारीले आकाशमा ड्रोन उडिरहेको देखेपछि खबर गरेका थिए। पछि दार्जलिङ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।
‘युवाहरूले अनुमतिविनै ड्रोन उडाएछन्,’ प्रजिअ तुलसीराम सेडाइले सेतोपाटीसँग भने, ‘युवाहरूले डकुमेन्ट्री र युटुवभिडिओ बनाउन ड्रोन उडाएका रहेछन्। अनुमति नलिएकोमा हामीले पनि कारबाही गर्नै पर्ने देखिन्छ।’
भारतीय सञ्चार माध्यम टेलिग्राफका अनुसार उनीहरूले दार्जलिङको सीङगालीला राष्ट्रिय निकुञ्जमाथि पनि ड्रोन उडाएका थिए।
पह्राउ परेका नेपालीलाई दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको र २५ फेब्रुअरीमा सुनुवाई हुने पनि उनले बताए।
भारतीय प्रहरीले एक ड्रोन, १६ जिबीको मेमोरी कार्ड र रिमोट पनि बरामद गरेको छ। पक्राउ परेका युवाहरु सबै ३० वर्षभन्दा कम उमेरका छन्।
दार्जलिङ प्रहरीका अनुसार झापाका २९ वर्षीय विज्ञान गौतम, २५ वर्षीय विश्वास घिमिरे, २३ वर्षीय निश्चल कार्की, २८ वर्षीय देविन्द्र सिटौला, २३ वर्षीय कमल सुवेदी, दिपन गौतम, २४ वर्षीय अनिमेस भट्टराई, काठमाडौंका २६ वर्षीय समय रिजाल, चितवनका २४ वर्षिय कृष्ण सापकोटा र धाडिङका २३ वर्षीय सुवोध त्रिपतीलाई नियन्त्रणमा लिएको हो।