प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग कमिसनको कुराकानी गर्ने विजय प्रकाश मिश्रलाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ।
तर उनलाई अडिओ टेप सार्वजनिक गरेकोमा नभई लेखा समितिका सांसदको चरित्र हत्या गर्ने गरी टीकाटिप्पणी गरेकोमा समितिले कारबाही गर्न पत्राचार गरेको हो।
उनले रातोपाटी अनलाइनसँगको कुराकानीमा बाँस्कोटासँगको अडिओ बाहिर नल्याएको भए लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुन लागेको बताएका थिए।
नोट, पासपोर्ट र राजस्व स्टिकर लगायतका महत्वपूर्ण कागजपत्र छपाइका लागि आवश्यक सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको थियो।
सरकारले जर्मनी, फ्रान्स र स्वीस कम्पनीसँग सेक्युरिटी प्रेस खरिदबारे छलफल गरे पनि अन्तिममा जर्मनी र फ्रान्सबारे प्रस्ताव अगाडि बढाउने तयारी गरेको थियो।
तर मिश्रले लेखा समितिले जर्मनीको कम्पनीलाई ठेक्का दिनेगरी समितिका सदस्यहरूले सेटिङ गरेको दाबी गरेका थिए।
‘आज हामीले यो अडिओ बाहिर नल्याएको भए आजै लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुँदै थियो। लेखा समितिका मान्छेहरूले पनि कमिसन खाने गरी सेटिङ गरिसकेका थिए। त्यसकारण हामीले उक्त अडिओ बाहिर ल्याएर भ्रष्टाचार हुनबाट रोक्न खोजेका हौं,’ उनले भनेका छन्।
मिश्रले गरेको टिप्पणीबारे लेखा समितिका सांसदहरूले आपत्ति जनाएका थिए।
कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रभात किशोर उपाध्यायले फेसबुकमा लेखेको स्ट्याटस नै देखाएका थिए। सांसद रिजालले '४ अर्ब खाएको भनेर दुष्प्रचार गरिएको भन्दै बैठकमा लेखा समिति सदस्यहरु भएको ‘स्क्रिन सट’ देखाएका थिए।
नेकपाका सांसद सूर्य पाठकले भने सञ्चार मन्त्रीसँगको अडिओ सार्वजनिक गरेका विजय प्रकाश मिश्रले गरेको सार्वजनिक टिप्पणीमाथि पनि छानबिन गर्नुपर्ने बताए। 'मिश्र भन्ने जसलाई हामीले विज्ञ भनेर बोलाएका थियौं। उहाँले आज यो रेकर्ड सार्वजनिक नभएको भए लेखा समितिले जर्मन कम्पनीलाई ठेक्का दिन निर्देशन दिने भन्नुभएको छ', पाठकले भने, 'म यसको छानबिन गर्न माग गर्छु।' पाठकले समिति सभापतिले ‘चार अर्ब खान’ लागेको विषय पुष्टि गर्नुपर्ने बताए। त्यस्तै, समाजवादी पार्टीका सांसद मोहम्मद इश्तियाक राइले पनि मिश्रले संसदको गरिमामा प्रहार गरेको बताए।
सम्बन्धित समाचार : सेक्युरिटी प्रेस खरिद प्रकरणमा लेखा समितिको बदनाम गरिएको भन्दै सांसद आक्रोशित
मिश्र सेक्युरिटी प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्ट समेत हुन्। मिश्रलाई यसअघि लेखा समितिले नै सेक्युरिटी प्रेसको विषयमा विज्ञका रूपमा डाकेर छलफल गरेको थियो।
त्यस्तै, लेखा समितिले फेसबुकमा सांसदहरूको फोटोसहित ४ अर्ब खान लागेको टिप्पणी गरेका प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको लागि प्रहरीलाई पत्राचार गरेको छ।
'४ अर्ब खाएर जर्मन कम्पनीलाई दिने सांसदहरू' उल्लेख गर्दै सांसदहरूको फोटो पोस्ट गरेका थिए।