दाङको घोराहीस्थित ग्रुम्ह्रा चोकमा २५ लाखमा निर्मित घोडाको प्रतिमा स्थापना गरिएको छ।
प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले शनिबार बिहान जोडी घोडाको प्रतिमाको उद्घाटन गरेका हुन्।
मुख्य मन्त्रीले उद्घाटन गरे पनि वर्षाका कारण सम्बोधन गर्न भने पाएनन्। जिल्लामा शुक्रबारदेखि पानी परिरहेको छ।
घोराही उपमहानगरपालिकाले घोराही सहरको इतिहास झल्काउने उद्धेश्यका साथ सहरको मुख्य दुई स्थानका चोकमा घोडाको प्रतिमा स्थापना गर्न लागेको छ।
‘घोराही सहरको नाम घोडा शब्दबाट अपभ्रंश भई घोराही रहन गएका इतिहास छ,’ मेयर नरुलाल चौधरीले भने, ‘त्यही इतिहास संरक्षण गर्ने उद्धेश्यले घोडाको प्रतिमा राखिएको हो।’
मेयर चौधरीले घोराही बजारको मुख्य चोक गुम्ह्रा चोक र घोराही चोकमा घोडाको प्रतिमा स्थापना गरिने जानकारी दिए।
‘आज गुम्ह्रा चोकमा जोडी घोडाको उद्घाटन मुख्य मन्त्रीले गर्नुभयो,’ चौधरीले भने, ‘निकट भविष्यमै हामी घोराही चोकमा पनि एउटा घोडाको प्रतिमा स्थापना गर्ने छौं।’
नगर कार्यपालिकाको निर्णय अनुसार घोराहीका ती दुई चोकमा घोडाको प्रतिमा राख्ने निर्णय भएको मेयर चौधरीले बताए।
गुम्ह्रा चोकमा सिल्भरबाट निर्मित घोडा र घोडीको जोडी प्रतिमा स्थापना गरिएको छ। घोराही चोकमा भविष्यमा स्थापना गरिने घोडा फाइबरबाट निर्मित हुनेछ। त्यहाँ एउटा घोडाको प्रतिमामात्रै स्थापना गरिने घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए।
गुम्ह्रा चोकमा राखिएको घोडाको प्रतिमा २९ लाखमा टेण्डर आह्वान गरिएको भए पनि २५ लाखमा निर्माण भएको केसीले जानकारी दिए।
घोराही चोकमा राखिने घोडाको प्रतिमा एउटा मात्रै हुने भएको हुँदा त्यो भन्दा केही सस्तोमा निर्माण हुने केसीले जानकारी दिए।
घोराही चोकमा स्थापना गर्ने घोडाको प्रतिमा भने निर्माणको क्रममा रहेको उनले बताए।
विगतमा मोटर गाडी नचल्दाखेरि पहाडी जिल्लाका मानिसहरू सुनदेखि नुनसम्मको व्यापार गर्न आफ्ना घोडाहरूसहित दाङमा आउने गर्दथे। त्यतिबेला यातायात तथा ढुवानीका प्रमुख साधन नै घोडा हुने गर्दथे।
सल्यान, रोल्पा, रुकुम, प्यूठान, जुम्ला हुम्लासम्मका मानिसहरू दाङको बाटो हुँदै छिमेकी देश भारतसम्म नुन, तेल लिन जाने क्रममा दाङ उपत्यकाको घोराही र तुलसीपुरमा बास बस्ने गर्दथे। घोराहीमा पनि धेरै घोडा जमघट हुने र घोडाको व्यापार हुने हुँदा त्यसैबाट घोराही नामांकरण भएको पुरानो पुस्ताका मानिसहरू बताउँछन्।
तुलसीपुरको भोटे मेलामा घोडाको व्यापार हुने गर्दथ्यो। घोडा दौड प्रतियोगिता आयोजना गरिन्थ्यो। सबभन्दा राम्रो दौडन सक्ने घोडालाई व्यापारी तथा साहु महाजनले खरिद गर्ने गर्दथे।
तुलसीपुरको पर्सेनीमा लाग्ने भोटे मेला वर्षौंदेखि लाग्दै आएको थियो। तत्कालीन माओवादी सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुगेपछि विक्रम संवत् २०५६ सालमा भोटे मेला स्थगित भयो। फेरि २० वर्षपछि शुक्रबारदेखि पर्सेनीमा भोटे मेला ब्यूँताइएको छ। मेलाको शनिबार समापन हुँदैछ।
भोटे मेलामा हिमाली भेगका मानिसहरू (जुम्ली तथा भोटेहरू) हिमाली जडिबुटी, राडीपाखी ल्याएर दाङमा विक्री गर्ने गर्दथे।