नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले अस्पतालमा उपचाररत नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपलियालाई भेटेका छन्।
गत बिहीबार भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा प्रदर्शनमा उत्रिएका नेविसंघमाथि प्रहरीले लाठीचार्ज गरेको थियो। निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडिओटेप सार्वजनिक भएपछि बाँस्कोटामाथि छानविन गर्न माग गर्दै नेविसंघले प्रदर्शन गरेको थियो।
उक्त प्रदर्शनमा अध्यक्ष राजीव ढुंगाना, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, रामजी बस्नेतलगायत घाइते भएका थिए। महामन्त्री थपलिया र आरआर इकाइका नेता बस्नेत भने मोडेल अस्पतालमा उपचार गराइरहेका छन्।
शनिबार कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले उपचाररत थपलिया र बस्नेतलाई भेटेका हुन्।
नेविसंघका आरआर क्याम्पस नेता अनुराग साहका अनुसार सहमहामन्त्री महतले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै नेविसंघले आपत्ति जनाएको थियो।