असन बजारमा किनमेल गर्न जाने ग्राहकहरूलाई हिजोआज कालो ब्यानरले स्वागत गर्छ।
राजधानीको यो पुरानो बजारमा पुर्खौं पुर्खादेखि चल्दै आएका साना पसलहरू मासेर व्यापारिक कम्प्लेक्स बनाउन खोजेपछि स्थानीयले विरोधस्वरुप कालो ब्यानर टांगेका हुन्।
पछिल्लो समय हामीकहाँ सार्वजनिक स्थल मासेर व्यापारिक कम्प्लेक्स बनाउने होड छ। सरकारी स्वामित्वका संस्थानहरू नै यसमा बढी उद्यत छन्। यही क्रममा विनाशको संघारमा छ, असनको घडीघर।
आठ आना तीन दाम क्षेत्रफलमा बनेको यो घरमा एकै छतमुनि १३ वटा पसल सञ्चालित छन्। तीनवटा परिवार बसोबास गर्छन्।
२०३१ सालमा नापी विभागका अधिकारी यहाँ फित्ता लिएर आएका थिए। वरपरका सबैले लालपुर्जा पाए। यो घरमा भने कित्ताकाट भएन। पसलहरू स–साना कित्तामा बाँडिएकाले नापीले सबैको एकीकृत ‘फिल्डबुक’ बनाएर गयो।
उक्त फिल्डबुकमा ‘सन्तान दर सन्तानले बहाल बुझाएसम्म बस्न पाउने गरी भोगचलन गरिआएको’ उल्लेख छ। गुठी संस्थानले २०७० फागुन ८ गते गरेको करार सम्झौतामा पनि ‘सन्तान दर सन्तानदेखि बसी आएको’ भनिएको छ। घरका सबैले यी दुवै कागजपत्र सुरक्षित राखेका छन्।
मल्लकालीन काठमाडौं सम्पदाको झलक दिने र पुरातात्विक महत्वका आधारमा संरक्षण गरिनुपर्ने यो घरको अस्तित्व अहिले संकटमा छ। रेखदेख गर्ने र बहाल उठाउने जिम्मेवारी पाएको गुठी संस्थान नै घर भत्काएर व्यापारिक कम्प्लेक्स बनाउन खोज्दैछ।
गुठीले एक निजी व्यापारिक संस्थालाई जग्गा भाडामा दिने सम्झौता २०७४ सालमै गरेको हो। तीन वर्ष निर्माण अवधि तोकिएको छ। त्यसपछि २७ वर्षसम्म उक्त व्यापारिक समूहले अकन्टक कारोबार गर्नेछ। ‘सन्तान दर सन्तानदेखि’ बस्दै आएकाहरूको उठिबास हुनेछ।
संरक्षण गर्नुपर्ने निकायले नै उठिबास गर्न खोजेपछि यो घरका व्यापारी तथा बसोबासी विरोधमा ओर्लिएका हुन्।
उनीहरूले ‘ऐतिहासिक तथा पुरातात्विक संरचना नयाँ निर्माण गरी आफूहरूलाई यथास्थानमा बसोबास गर्ने स्वीकृति पाउँ’ भन्दै सोमबार गुठी संस्थानमा ज्ञापनपत्र दिएका छन्। यही ज्ञापनपत्र दर्ता गराउन दुई दिन धाउनुपरेको यहाँका व्यवसायी सजीव बज्राचार्यले बताए।
‘हामी ज्ञापनपत्र लिएर हिजो (आइतबार) गएका थियौं, तर उहाँहरूले दर्ता गर्न मान्नुभएन,’ उनले सोमबार सेतोपाटीसँग भने, ‘आज बल्लतल्ल दर्ता भयो। तर, व्यापारिक कम्प्लेक्स बनाउन सम्झौता भइसकेकाले उहाँहरू यसको कुनै काम छैन भन्नुहुन्छ।’
सजीवको पसल घडीघरको दक्षिणी मोहडामा छ। तीन मिटर लम्बाइ र दस मिटर चौडाइको पसलमा उनी मरमसला बेच्छन्। यही उनको रोजीरोटी हो।
‘हाम्रो पुर्खा झन्डै तीन सय वर्षदेखि यहाँ पसल चलाउँदै आएको हजुरबुवा भन्नुहुन्थ्यो,’ ६१ वर्षीय सजीवले भने।
घडीघरको इतिहास बुझ्न काठमाडौंको मल्लकालीन सहरी संरचना थाहा पाउनुपर्छ।
सम्पदाविद् प्राध्यापक सुदर्शनराज तिवारीका अनुसार मल्लकालमा काठमाडौंभित्र चारथरीका सार्वजनिक स्थल थिए। वसन्तपुर दरबार स्क्वायर सबभन्दा ठूलो थियो। यहाँ राज्यभरका मान्छे जमघट हुन्थे। दोस्रो तहमा इन्द्रचोक, असन, जैसीदेवलजस्ता चोक पर्छन्। यी मल्लकालीन ‘मार्केट स्क्वायर’ हुन्। तेस्रोमा सहरभित्रका बहाल पर्छन्। योभन्दा भित्र चौथो तहका स–साना चोक हामी देख्छौं।
असन, अन्नपूर्ण मन्दिर सामुन्नेको घडीघर दोस्रो तहको सार्वजनिक स्थलसँग जोडिन्छ। मल्ल राजाहरूले ‘मार्केट स्क्वायर’ को अवधारणामा असन चोक बनाए। पसलहरू विकास गरे। असनको यो घर त्यतिबेलाकै सबभन्दा ठूलो किनमेल थलो हो भन्ने भनाइ छ।
स्थानीयका अनुसार यो घर पहिले तालुकदारको संरक्षणमा थियो। नापी विभागको कागजमा ‘श्री ५ वायुदेवता गुठी सञ्चालन गर्ने चौतारिया चित्रविक्रम शाह, रेशमविक्रम शाह, चुँडाविक्रम शाह लगायत’ को नाम उल्लेख छ। घर बहाल उठाउन उनीहरू नै आउँथे।
यो वायुदेवता गुठी पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको मानिन्छ। पृथ्वीनारायणले काठमाडौं जितेपछि उनका छोरा बहादुर शाहले यो घर हड्पेको भनाइ छ। उनले दरबारमा मरेका वा मारिएका मान्छेको आत्माको शान्तिका लागि पूजाआजा गराउन गुठी चलाए। गुठीले यही घरबाट हनुमानढोकासम्म पूजा लैजान थाल्यो। पूजाको प्रबन्ध मिलाउने सुसारेहरू धेरै पछिसम्म यहीँ बस्ने गरेको सजीव सम्झन्छन्।
यो नियम राजा वीरेन्द्रको पालासम्म चल्यो। घरबहालबाट उठेको पैसाले दसैं बेला हनुमानढोकामा पूजा लगिन्थ्यो। पूजा गरेर बचेको पैसा तालुकदार आफैंले राख्नू भनी वीरेन्द्रबाट हुकुमप्रमांगी भएको थियो।
हुकुमप्रमांगीको कागज उनीहरूसँग सुरक्षित छ। हनुमानढोकामा पूजा गर्ने चलन पनि कायम छ।
‘विसं १८८५ मा यो घर भत्किएको थियो। त्यतिबेला हाम्रा पुर्खाले गुठीका तालुकदारसमक्ष पुनर्निर्माणका लागि अनुरोध गरे। उनीहरूले सन्तान दरसन्तान भोगचलन गर्न दिएकाले पुनर्निर्माणको दायित्व पनि हाम्रै हुने भनेछन्। यही आधारमा हाम्रा पुर्खाले पुनर्निर्माण गरेका थिए,’ सजीवले भने।
यति पुरानो इतिहास बोकेको घर रेखदेखको जिम्मा गुठी संस्थानमा गएपछि उसले यहाँका व्यापारीसँग करार सम्झौता गर्यो। उक्त करार २०७० फागुन १ देखि लागू भएको हो। पाँच वर्षको म्याद छ। त्यसपछि पनि हटाउने व्यवस्था छैन। प्रत्येक पाँच वर्षमा बहाल पुनरावलोकन गर्ने भनेको छ। पुनरावलोकन गर्दा पाँच प्रतिशत वृद्धि हुनेछ। यसमा दुवै पक्षले मञ्जुरी गरेका छन्।
सम्झौताअनुसार बहालवालाले नियमित भाडा बुझाएसम्म हटाउन मिल्दैन। महिना गुज्रेको ६० दिनभित्र बहाल चुक्ता नगरे बल्ल पसल कब्जामा लिन सकिने उल्लेख छ।
यही प्रावधानमा टेकेर बहालवालाले आफूमाथि अन्याय भएको दाबी गर्दै आएका छन्।
यो घरको साँस्कृतिक महत्व पनि छ।
घरको एउटा कित्ता अशोक वृक्ष विहारको नाममा छ। विहारमा अमिताभ बुद्धको मन्दिर छ। यो मन्दिर पाँच सय वर्ष पुरानो भएको विहारका गुठियार बताउँछन्।
अमिताभ बुद्ध मन्दिरको ठिकसामुन्ने सानो चोक छ। हरेक विहारको मुखमा चैत्य हुन्छ। यहाँको चैत्य कुनै कालखण्डमा भुइँचालोले पुरिएको हुनसक्ने जनविश्वास छ।
विहारमा हरेक वर्ष पञ्चदानको दिन ठूलो उत्सव हुन्छ। शाक्य, बज्राचार्यहरू भिक्षा माग्न आउँछन्। उनीहरूलाई गक्षअनुसार चामल, नुन, पैसा दान दिने चलन छ।
घर भत्काउने हो भने पाँच सय वर्ष पुरानो मन्दिर नै मासिने खतरा छ। प्राचीन स्मारक ऐनले देवीदेवताको मन्दिर, चैत्य लगायत सम्पदा मौलिक रूपमा दुरुस्त राख्नुपर्ने व्यवस्था गरेको छ। यस आधारमा असनको घडीघर भत्काउनु उक्त कानुनको उल्लंघन हो।
‘अमिताभ बुद्धको यति पुरानो मन्दिर हुनु र पञ्चदानको पुरानो संस्कृति यही घरबाट चल्नुले यहाँको इतिहास झल्काउँछ,’ अशोक वृक्ष विहारका गुठियार उत्तमधर तुलाधरले भने, ‘हाम्रो प्रमाण भनेकै हाम्रो भगवान हो। भगवानको ठाउँ हामी एक इन्च छाड्दा पनि छाड्दैनौं, अर्काको लिँदा पनि लिँदैनौं।’
व्यापारिक कम्प्लेक्सको योजना पहिलोपटक बनेको होइन।
यसअघि २०६२ सालमा पनि जग्गा भाडामा दिन खोजिएको थियो। त्यतिबेला एक जना तालुकदारले बहालवालालाई पत्तै नदिई नगरपालिकाबाट नक्सा पास गराएका थिए। बहालवालाहरूले मुद्दा हाले। जिल्ला अदालतले जितायो। पुनरावदेन र सर्वोच्च अदालतमा भने उनीहरू हारे।
कानुनी लडाइँमा हारे पनि उनीहरूले विरोध गरिरहे। स्थानीयले साथ दिए। घर भत्काउने प्रपञ्च सफल भएन।
यसपालि फेरि गुठी संस्थान घर भत्काउन जुर्मुराएपछि स्थानीय आन्दोलित भएका हुन्।
‘हामी फेरि सर्वोच्च जाने तयारीमा छौं,’ सजीवले भने, ‘गुठी संस्थानले हाम्रो कुरा सुनुवाइ गरेन। अघिल्लो आदेश पुनरावलोकन निम्ति सर्वोच्च जान परामर्श गर्दैछौं।’
उनीहरू आफ्नो माग लिएर काठमाडौं महानगरपालिकासमेत गएका थिए। त्यहाँ पनि सुनुवाइ नभएको सजीव बताउँछन्।
हामीले यसबारे वडा नम्बर २५ का अध्यक्ष नीलकाजी शाक्यसँग कुरा गरेका थियौं। उनले असनको पुरानो घर भत्काएर व्यापारिक कम्प्लेक्स बनाउने योजना आफूलाई चित्त नबुझेको बताएका थिए।
‘असनका प्रत्येक घर र मन्दिरसँग काठमाडौं सभ्यताको पहिचान जोडिएको छ। यति पुरानो घर भत्काएर व्यापारिक कम्प्लेक्स बनाउँदा असनको पहिचान गुम्छ,’ उनको भनाइ थियो, ‘स्थानीय जनता यसको विरोधमा छन्। हामी मञ्जुरी दिन सक्दैनौं।’
गुठी संस्थानका एक अधिकारीसँग कुरा गर्दा ‘भुइँचालोले घर जोखिमपूर्ण अवस्थामा पुगेकाले भत्काउन लागेको’ दाबी गरेका थिए। व्यापारिक कम्प्लेक्स बने पनि अहिलेका बहालवालालाई मुख्य प्राथमिकता दिइने उनको भनाइ थियो।
यहाँका बसोबासी भने भुइँचालोको क्षति हेरेर भत्काउन खोजेको तर्कसँग सहमत छैनन्।
‘१९९० सालको महाभूकम्पमा यो घर पूर्ण रूपमा क्षति भएपछि हाम्रा पुर्खाले साविकबमोजिम संरचनामा कुनै फेरबदल नगरी १९९३ सालमा जगदेखि नै पुनर्निर्माण गरेको इतिहास छ,’ गुठी संस्थानमा सोमबार बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।
२०७२ को भुइँचालोमा भने यो घरमा क्षति नभएको र सम्बन्धित निकायबाट निरीक्षण गर्दा बस्नयोग्य ठहर गरी ‘रातो स्टिकर’ नटाँसिएको ज्ञापनपत्रमा उल्लेख छ।
यति मात्र होइन, घर पुनर्निर्माण गर्न आवश्यक भए भोगचलन गर्दै आएका १४ परिवारले सामूहिक लगानीमा नयाँ निर्माण गर्न मञ्जुरी जनाएका छन्।
सम्झौतामा पनि दैवी वा प्राकृतिक प्रकोपका कारण कुनै क्षति भए बहालवालाले नै मर्मत गर्ने भनिएको छ।
‘अहिले त हामी कालो ब्यानर झुन्ड्याएर शान्तिपूर्ण विरोध गरिरहेका छौं, गुठी संस्थानले जबर्जस्ती गर्न खोज्यो भने कडा विरोध कार्यक्रम ल्याउने छौं,’ सजीवले भने, ‘सम्पदा जोगाउन असन जाग्नेछ।’