पशुपति क्षेत्रबीचबाट खोलिएको तिलगंगा–गुह्येश्वरी सडकखण्ड बन्द गरिएको छ।
विश्व सम्पदा सूचीकृत पशुपति क्षेत्र संरक्षण गर्न यो बाटो बन्द गर्ने निर्णय भएको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए।
ध्रुवस्थली र मृगस्थली जंगल बीचबाट २०६४ सालमा पुष्पकमल दाहाल सरकारका पालामा यो बाटो खोलिएको थियो। रातारात डोजर लगाएर जंगल काटेर बाटो खुलाउँदा छ सय भन्दा बढी रूख काटिएका थिए।
बाटो खोल्ने बेलामै पशुपति क्षेत्र विकास कोष र युनेस्कोले विरोध गरेका थिए। सात वर्षअघि युनेस्कोले यो बाटोमा सवारी आवागमन बन्द नगराए पशुपतिलाई विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो।
'यो एकदमै राम्रो निर्णय भयो। यो बाटो बन्द नगरे युनेस्कोले सम्पदा सूचीबाट पशुपति क्षेत्रलाई हटाउन सक्छ,' कोषका पूर्व सदस्य सचिव गोविन्द टन्डनले भने, 'संरक्षित वन भनेपछि टुक्राउन हुँदैन।'
त्यस्तै, तीन वर्षअघि सर्वोच्च अदालतले त्यो बाटो बन्द गर्ने आदेश दिएको थियो। सिधा गोठाटार जोडिने यो बाटो झन्डै ६ वटा नगरपालिकाका बासिन्दाले उपभोग गर्दै आएका थिए। वैकल्पिक बाटो टुंगो नलागेसम्म सडक बन्द गर्न नदिने अडान स्थानीयको थियो।
सर्वोच्चको आदेशपछि कोषले बाटो बन्द गरेर पर्खाल लगाउन टेन्डर आह्वान गरेको थियो। तर विवादकै कारण टेन्डर परेन।
युनेस्कोको चेतावनी र सर्वोच्चको आदेश कार्यान्वयन गर्न अब यो बाटो पूर्ण रूपमा बन्द गरिने पशुपति विकास कोषको भनाइ छ। बाटो बन्द गर्न सडक दुवैतिर पर्खाल लगाइने कोषले जनाएको छ। पैदलयात्रुका लागि भने बाटो खुला हुनेछ। अहिलेको बाटोमा माटो पुरेर रूखबिरूवा रोप्ने योजना छ।
पर्खाल लगाउन टेन्डरमार्फत् पिआर कन्सट्रक्सन, भक्तपुरसँग आगामी असार २६ भित्र सबै काम सक्ने गरी सम्झौता भइसकेको कोषले जनाएको छ।
'यो बाटो बन्द नगरे पहिरोको जोखिम छ, जसले विश्वरूपा मन्दिर र अन्य सम्पदा जोखिममा पर्नेछ,' टन्डनले भने, 'पशुपति सम्पदा जोगाउन यो बाटो बन्द हुनै पर्छ।'
बाटो बन्द गरेपछि यहाँ गल्फ कोर्स, ध्रुवस्थली र मृगस्थली जोडिनेछन्। झन्डै एक हजार रोपनीको वन क्षेत्र स्थापना हुन्छ। यो क्षेत्रभित्र गुह्वेश्वरी मन्दिर, विश्वरुप मन्दिर, किरातेश्वर र शिवपुरी बाबाको आश्रमजस्ता सम्पदा पर्छन्।