नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक रहेको सम्बन्धित अधिकारीहरूले औंल्याएका छन्।
पर्यटन विभाग र पर्यटक प्रहरी इकाई भृकुटीमण्डपले आज यहाँ आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष–२०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायको भूमिका’ विषयक कार्यक्रमका वक्ताले सुरक्षित वातावरण निर्माण भएमात्र पर्यटक आगमन बढ्ने बताएका हुन् । कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले प्रहरी एक्लैले पर्यटकको सुरक्षा गर्न नसक्ने भन्दै यसका लागि पर्यटन व्यवसायीको समेत गहन जिम्मेवारी रहेको बताए ।
‘विश्वका अरु देशको राजधानीभन्दा नेपालको राजधानी काठमाडौं आपराधिक क्रियाकलाप कम हुने राजधानीमा पर्छ, यो सन्देश विश्वमा लैजानु जरुरी छ,’उनले भने।
समुदायसँग सहकार्य गरेर शान्तिपूर्ण समाज निर्माण गर्न काठमाडौं प्रहरी लाग्ने उनको भनाइ छ ।
उनले ठमेलभित्र देखिएको विकृति अन्त्यका लागि व्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने बताए ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीले उत्कृष्ट सेवा प्रदान गरेको बताउँदै आगामी दिनमा पर्यटक प्रहरीलाई थप साधन स्रोत सम्पन्न बनाएर अगाडि लैजानुपर्ने बताए ।
उनले पर्यटक गाइडले पर्यटकलाई गलत ठाउँमा लगेर पैसा कमाउने खेल गरेको भन्दै यस्ता क्रियाकलापलाई रोक्न पर्यटन विभागले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले इजाजतप्राप्त संस्थाबाट भन्दा पनि पर्यटक आफुखुसी जाँदा पर्यटकहरू हराउने तथा असुरक्षित हुने गरेको बताए ।
पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीले पर्यटनको बारेमा जानकारीमुलक एप्स सञ्चालनका साथै राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा महानगरीय पर्यटन सूचना केन्द्र सञ्चालन गर्न लागेको पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।