पशुपति क्षेत्रबीचबाट खोलिएको तिलगंगा–गुह्येश्वरी सडकखण्ड बन्द गरेर त्यहाँ वृक्षरोपण सुरू गरिएको छ।
विश्व सम्पदा सूचीकृत पशुपति क्षेत्र संरक्षण गर्न यो बाटो बन्द गरिएको पशुपति विकास कोषका सदस्य-सचिव प्रदीप ढकालले जानकारी दिए। बाटो बन्द गर्न वरिपरि पर्खालले घेरिएको उनले जानकारी दिए।
'यो बाटोमा सवारी आवागमन बन्द भएको छ। हामीले आधा पर्खाल उठाइसक्यौं। थप काम हुँदैछ,' ढकालले सेतोपाटीसँग भने, 'यति नगरे पाशुपत क्षेत्र मासिन्छ।'
ध्रुवस्थली र मृगस्थली जंगल बीचबाट २०६४ सालमा पुष्पकमल दाहाल सरकारका पालामा यो बाटो खोलिएको थियो। बाटो खोल्ने बेलामै पशुपति क्षेत्र विकास कोष र युनेस्कोले विरोध गरेका थिए। सात वर्षअघि युनेस्कोले यो बाटोमा सवारी आवागमन बन्द नगराए पशुपतिलाई विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो।
त्यस्तै, तीन वर्षअघि सर्वोच्च अदालतले पनि यो बाटो बन्द गर्ने आदेश दिएको थियो। सिधा गोठाटार जोडिने यो बाटो झन्डै ६ वटा नगरपालिकाका बासिन्दाले उपभोग गर्दै आएका थिए। वैकल्पिक बाटो टुंगो नलागेसम्म सडक बन्द गर्न नदिने अडान स्थानीयको थियो।
यहाँ स्थानीयभन्दा पानी ट्यांकर र गिटीबालुवाका गाडी बढी गुड्दै आएका थिए। बाटो बन्द नगरे पहिरो जोखिम देखिएको र यसले विश्वरूपा मन्दिरका साथै अन्य सम्पदा नासिने सम्भावना छ। त्यस्तै श्लेषमान्तक वनपछाडि भूक्षय भएको सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले बताए।
'यो बाटो स्थानीयभन्दा ट्यांकर र निर्माण सामग्री व्यवसायीले प्रयोग गर्दै आएका हुन्,' उनले भने, 'गाडीको चहलपहलले यहाँको माटो र संरचना कमजोर भएको छ। यति मात्र होइन, मार्बलका टुक्रा र अरू फोहोर फ्याँक्ने ठाउँ पनि भइसकेको थियो। अब बन्द भयो। यो एकदमै राम्रो भएको छ।'
यो बाटो खोल्दा पहिले रातारात डोजर लगाएर जंगल फाँडिएको थियो। छ सयभन्दा बढी रूख काटिएका थिए। यसलाई फेरि हरियाली बनाउन सम्पदा संरक्षण अभियन्ताहरूको टोली, धार्मिक संस्थाका सदस्य र स्थानीयको प्रयासमा बुधबार वृक्षरोपण गरिएको श्रेष्ठले जानकारी दिए।
'आज हामीले सय वटाजति बिरूवा रोप्यौं,' उनले भने, 'केही बिरूवा पशुपति विकास कोषलाई पनि हस्तान्तरण गर्यौं। आगामी दिनमा कोषले नै विज्ञहरूसँग सल्लाह लिएर उपयुक्त बिरूवा रोप्ने प्रतिबद्धता जनाएको छ। आशा गरौं, यो काम हुन्छ।'
काठमाडौं महानगरपालिकाबाट उपमेयर हरिप्रभा खड्गीसहितको अनुगमन टोलीमार्फत् विकास कोषलाई बिरूवा दिएको उनले जानकारी दिए।
बाटो बन्द गरेपछि यहाँ गल्फ कोर्स, ध्रुवस्थली र मृगस्थली जोडिनेछन्। झन्डै एक हजार रोपनीको वन क्षेत्र स्थापना हुन्छ। यो क्षेत्रभित्र गुह्वेश्वरी मन्दिर, विश्वरुप मन्दिर, किरातेश्वर र शिवपुरी बाबाको आश्रमजस्ता सम्पदा पर्छन्।