थाइल्याण्डमा रहेर सामाजिक सञ्जाल लगायतका विभिन्न तरिकाहरू प्रयोग गरी वैदेशिक रोजगारमा जान चाहने व्यक्तिको पहिचान गर्ने र पहिचान भएका व्यक्तिहरूलाई विभिन्न अफर पठाएर फसाउने गरेको गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
५२ जना पीडितले उजुरी दिएपछि नेपाल प्रहरीको समन्वयनमा थाइल्याण्डस्थित नेपाली राजदूतावास र थाइ प्रहरीको सक्रियतामा गत चैत १३ गते थाइल्याण्ड र लाओसको सीमानामा पर्ने नाखोल फानोम वाङ यात भन्ने स्थानबाट परशुराम गुरुङलाई पक्राउ गरिएको हो।
नेपाल प्रहरी गृह र परराष्ट्र मन्त्रालय तथा पीडितहरूको सहकार्यमा थाइल्याण्डस्थित दूतावासमार्फत् जेठ १० गते उनलाई नेपाल ल्याइएको हो।
पीडितहरूले ०७२/०७३ सालदेखि नै उनीविरूद्ध मानव बेचविखन र ओसारपसार र ठगी मुद्दामा जाहेरी दिएका थिए। इन्टरपोलबाट डिफ्जुन नोटिस जारी गरी अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो।
शनिबार केन्द्रीय अनुसन्धान ब्यूरो( सिआइबी)ले पत्रकार सम्मेलन आयोजना गरी उनलाई सार्वजनिक गरेको हो।
करिब ५२ जनाबाट ५ करोड बढी ठगी गरेको उनीमाथि आरोप छ।
उनले प्रतिव्यक्ति ५ लाख देखि २० लाखसम्म लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिआइजी निरज शाहीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।
पीडितहरूलाई सामाजिक सञ्जालमार्फत् ल्याउने र विदेशमा आकर्षक तलब पाउने भनि उनीहरू झुक्याइ थाइल्याण्ड बोलाउने र सुरूमा राम्रो व्यवहार गर्ने। पछि बन्दक बनाएर चरण शोषण गर्ने त्यसपश्चात थाइ प्रहरीलाई उजुरी समेत गर्न नदिइ क्यानडाको फ्लाइट हो भन्दै आरएको फ्लाइट चेक इन गराइ सम्पर्कविहीन हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।
उनीविरूद्ध ठगी शिर्षकमा ८५ वटा निवेदन परेका छन्।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।