कर्तव्य ज्यान मुद्दामा तीस वर्षयता फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ।
बारा गढिमाई नगरपालिका वडा नम्बर ११ का बीरबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
२०३९ साल जेठ ८ गते हत्या गरी फरार रहेका गढिमाई ५ का सुकदेव साह सोनारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला कारागार पर्सा पठाइएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।
उनका अनुसार लुकिछिपी बसिरहेको अवस्थामा जेठ २८ गते राति चौधरीलाई पक्राउ गरिएको हो। बारा जिल्ला अदालतको २०४५ साल असोज १७ गतेको फैसलाले चौधरीलाई जन्मकैद फैसला गरेको थियो। भट्टराईका अनुसार उनी अहिले ७६ वर्षका छन्।
लामो समयसम्म अपराधी पक्राउ नपर्दा पीडितले न्याय अनुभूति गर्न सकेका थिएनन्। सोही मुद्दामा फरार रहेका पलट सोनार २०७५ भदौ ५ गते पक्राउ परी कैद भुक्तान गरिरहेका छन्।
बारा प्रहरीले अहिले फरार अभियुक्तहरूको खोजी तीब्र पारेको छ। एसपी भट्टराईले प्राथमिकतासाथ फैसला कार्यान्वयनका लागि अभियुक्तहरूको खोजी अभियान चलाएको बताए।
‘अपराध गरे पनि कसुर कहिल्यै पनि मर्दैन भन्ने उदाहरण हो,’ भट्टराईले भने, ‘७६ वर्ष उमेरको व्यक्तिलाई पनि पक्राउ गरेर जेल चलान गरिएको छ।’