ट्राफिक व्यवस्थापनमा महिला प्रहरीको भूमिका कत्तिको प्रभावकारी हुन्छ भन्ने बुझ्न थापाथली क्षेत्र हेरे पुग्छ।
काठमाडौंबाट ललितपुर छिर्ने मूलबाटो रहेको र राजधानीका अतिव्यस्त ठाउँहरूलाई जोड्ने यो चोक दिनैभरि व्यस्त रहन्छ। व्यस्तताको अनुपातमा यहाँको ट्राफिक व्यवस्थापन भने चुस्त रहेको महानगरीय ट्राफिक महाशाखाको ठहर छ।
व्यस्त चोकलाई पनि कुशलतापूर्वक सम्हाल्ने श्रेय जान्छ, महिला ट्राफिक प्रहरीहरूलाई। यहाँ इन्चार्ज विमला कठायतसँगै तीस जनाभन्दा बढी महिला ट्राफिक खटिएका छन्।
थापाथली चोकको यही अनुभवका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको जिम्मेवारी पनि यही जेठ ६ देखि महिलालाई दिइएको छ।
विमानस्थल गेटबाहिर रहेको प्रभागमा प्रमुखदेखि सहयोगीसम्म सबै महिला रहेको ट्राफिक प्रमुख वसन्त पन्तले जानकारी दिए।
'तुलनात्मक रूपमा महिलाको कार्यदक्षता र प्रभाव धेरै देखिएकाले विमानस्थल क्षेत्रको जिम्मा उहाँहरूलाई दिइएको हो,' पन्तले सेतोपाटीसँग भने, 'महिलाहरू अनुशासित हुन्छन्। काममा उनीहरूको 'परफेक्सन' देखिन्छ।'
विमानस्थलभित्र पनि एक महिनामा महिला ट्राफिक मात्र राख्ने गरी तयारी भइरहेको उनले जानकारी दिए।
विमानस्थल क्षेत्रमा मान्छेको चहलपहल धेरै हुन्छ। देशी-विदेशी मान्छे मुख्य गेट हुँदै आउजाउ गर्छन्। विदेशीहरूको आगमन हुने ठाउँ पनि यही हो। यस्तो अवस्थामा उनीहरूले केही सोध्न वा सहयोग माग्न सक्छन्। अहिले खटिएका महिला ट्राफिकलाई यस खाले व्यवहार पनि सल्टाउने उपायहरू सिकाइएको उनले बताए।
'महिलाहरू नै यसरी एउटा पूरै क्षेत्र हाँकेर बस्दा उनीहरूको आत्मविश्वास बढ्छ। हामीले यसको उदाहरण त थापाथलीमा देखेकै छौं,' उनले भने, 'नेपाल प्रहरीमा महिला प्रतिनिधिको भूमिका महत्वपूर्ण छ भन्ने देखाउन पनि यो निर्णय भएको हो।'
तुलनात्मक रूपमा महिला प्रहरीको काम बढी प्रभावकारी देखिएकोले विमानस्थल जस्तो क्षेत्रमा महिला प्रहरी नै उपयुक्त भएको उनी बताउँछन्।
विमानस्थल वृत्तकी इन्चार्ज इन्सपेक्टर मनीषा बुढाथोकी छन्। उनको टोलीमा २३ जना छन्। सबै महिलाबीच काम गर्दा धेरै कुरामा सहज हुने र आफ्नो आत्मविश्वासका साथै कार्यक्षमता बढ्ने मनीषा बताउँछिन्।
'पहिलो त हामी महिला मात्र हुँदा आपसी समस्या साट्न र बुझ्न धेरै मद्दत हुन्छ,' २७ वर्षीया मनीषाले भनिन्, 'अर्को, महिलाले मात्रै पनि सम्पूर्ण जिम्मेवारी सम्हाल्न सक्छन् भन्ने पुष्टि हुन्छ। आवश्यक परे सबैसँग सहयोग लिन्छौं। महिलाहरू सतर्क रहने र तुरून्तै कारबाही गर्न सक्ने भएकाले पनि हामीलाई यहाँको जिम्मा दिइएको हो।'
छ वर्षदेखि प्रहरी सेवामा रहेकी मनीषाको ट्राफिक क्षेत्रमा धेरै अनुभव भइसकेको छैन। चार महिना मात्र भयो। तर आफूहरूले कुनै काममा कसर बाँकी नराख्ने उनी बताउँछिन्।
'हामीले अरूजस्तै सबै काम गर्ने हो। विगतको अनुभव हेर्दा महिलाले राम्रो काम गर्छन् भनेर दिइएको हो,' उनले भनिन्, 'हामी स्वाभाविकै काममा लगनशील हुन्छौं। कडा हुन्छन् भनेको पनि सुन्छौं। महिला प्रहरी भनेर त लापरबाही गर्ने चालकहरू पनि हच्किन्छन्। यी सबै हामीले नियम पालना र चुस्त व्यवस्थापनका लागि नै गरेका हौं।'
उपत्यका ट्राफिकमा अहिले एक सय १६ जना महिला छन्। सय हाराहारी दैनिक ड्युटीमा खटिन्छन्। थापाथली क्षेत्रमा ३० जना जति खटिइने गरेको ट्राफिक प्रमुख पन्तले जानकारी दिए।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी