देशका विभिन्न स्थानमा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारद्वारा कर्मचारीहरु पक्राउ परिरहेका बेला रुपन्देहीमा भने प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्ति पक्राउ परेका छन्।
गत जेठ ३२ गते नियमित चेकिङको क्रममा रुपन्देहीको भैरहवा गल्लामण्डीमा साथमा कागजात नलिएका २ भारतीय नम्वरप्लेटका मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। ती मोटरसाइकलका सम्वन्धमा अनुसन्धान हुँदै गर्दा मुद्दा प्रभावित बनाउन प्रहरीलाई घुस दिन खोज्ने रुपन्देही मर्चवारी गाउंपालिकाका ६३ वर्षीय रामराज यादवलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले कागजात नभएका सवारी नियन्त्रणमा लिएपछि यादवले प्रहरी निरीक्षकको कार्यकक्षमा गई १० हजार रुपैयाँ दिएर मोटरसाईकल लैजान खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले नियन्त्रणमा लिएका यादवलाई घुस दिन ल्याएको १० हजार रकम सहित अख्तियार अनुसन्धान बुटवलमा आवश्यक कारवाहीको लागि पठाइएको बताए।