नवलपरासी (पश्चिम), रूपन्देही, चितवन, कास्की र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण यसप्रकार रहेको छ।
काठमाडौं: काठमाडौं महानगरपालिका-२६ लाजिम्पाटस्थित सडकमा बा.९३प. २०५० नम्बरको स्कुटरलाई नम्बर नखुलेको रातो कारले बिहीबार बिहान ठक्कर दिँदा भीमबहादुर गुरुङको मृत्यु भएको छ।
ठक्करले गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो। ठेगाना नखुलेका उनीसँगै सवार सन्तोष घर्ती घाइते छन्। उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
नवलपरासी (पश्चिम): रामग्राम नगरपालिका-१० नदवास्थित सडकमा युपी ५६ एबी ५५३७ नम्बरको मोटरसाइकल र ना.५ . ८२९५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा घाइते भएका रुपन्देही रोहिणी गाउँपालिका-४ का रामलखन चौधरीको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको बिहीबार मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य दुई जनालाई पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ।
रूपन्देही: लुम्बिनी सांस्कृतिक नगरपालिका-८ भैसहियास्थित सडकमा लु.४०प. ७३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने १९ वर्षीय बसन्त खत्रीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ।
चितवन: राप्ती नगरपालिका-६ हर्दिचोकस्थित सडकमा बुधबार बेलुका ना५ख ७२९३ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री रौतहट चपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय दु:ख माझीको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका सोही स्थान बस्ने ४५ वर्षीय गोविन्द माझीको सोही अस्पतालमा उपचार भइरहेको छ।
कास्की: पोखरा महानगरपालिका-३० घोतघोतेस्थित सडकमा बुधबार दिउँसो ना५ख ८७१४ नम्बरको गुडिरहेको बसबाट खसेर गम्भीर घाइते भएका रुपाकोट गाउँपालिका-६ बस्ने ६७ वर्षीय बिर्खबहादुर गुरुङको फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापा: कनकाई नगरपालिका-४ स्थित सडकमा मे३प ७६६७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बिहीबार बिहान सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक भोजपुर नगरपालिका-२ हेलोङ्छा बस्ने २७ वर्षीय सन्तोष तामाङको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ।