मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गतको पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेको लेदोले सडक पुरिएपछि शुक्रबार दिउँसो १२:३० बजेदेखि सडक अवरुद्ध भएको हो ।
डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् ।
यसैबीच, हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ।
हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा शुक्रबार बिहानदेखि यातायात सेवा अवरुद्ध भएको हो।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आजै बिहान हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै सवारी साधन भैँसेस्थित त्रिभुवन राजपथबाटै सञ्चालनमा ल्याइएको छ।
फाखेलको महालक्ष्मी पुल नजीक र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा हेटौँडा–कुलेखानी यातायात सञ्चालनमा अवरोध भएको हो।
त्रिभुवन राजपथको बागझोरामा शुक्रबार बिहान ९ बजेपछि आएको बाढीले हेटौँडा–काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको जिप्रकाले जनाएको छ।
हेटौँडाबाट भैँसे, भीमफेद, दामन र पालुङ जाने सवारीसाधन बागझोरामै रोकिरहेको भैँसेस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।
दिउँसोसम्म मौसममा सुधार भए डोरबारबाट पहिरो हटाई बागझोरामा यातायात सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ आस्मान तामाङले जानकारी दिए। रासस