संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र नछोड्न निर्देशन दिएको छ।
केही दिनदेखि निरन्तर वर्षा भइराखेको र बाढीपहिरोले विभिन्न ठाउँमा जनधनको क्षति भएको भन्दै मन्त्रालयले स्थानीय तहका प्रशासकीय अधिकृतलाई कार्यक्षेत्रमै बस्न आइतबार निर्देशन दिएको छ।
मन्त्रालयका शाखा अधिकृत विष्णुहरि बरालका अनुसार कार्यक्षेत्रबाहिर रहेका प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र कार्यक्षेत्र पुगिसक्न निर्देशन दिइएको हो।
बाढीपहिरोपीडितको खोज तथा उद्धारका साथै राहत वितरणका कार्यमा प्रशासकीय अधिकृत नहुँदा समस्या भएको भन्ने गुनासो आएपछि निर्देशन दिनुपरेको मन्त्रालयले जनाएको छ।
विपदको प्रभावकारी समन्वयात्मक ढंगले व्यवस्थापनका कार्यमा सहयोग पुर्याउन पनि मन्त्रालयले अधिकृतहरुलाई आग्रह गरेको छ।
देशभर ७५३ स्थानीय तहमा केन्द्र सरकारले नै प्रमुख प्रशासकीय अधिकृत खटाउने गर्छ।