संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो।
अविरल वर्षाका कारण पीडित भएकाहरुको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन्। बैठकले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुर्नबासको तत्काल व्यवस्था मिलाउन पनि भनेको छ।
त्यसैगरी वेपत्ता नागरिकको खोजी कार्यलाई पनि तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइएको समितिले जनाएको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापाले घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचारको व्यवस्था मिलाइएको बताए।
तीन दिनयता आएको लगातारको वर्षाका कारण देशका ३८ वटा जिल्ला बाढी, पहिरो र डुबानबाट बढी प्रभावित भएको छ।