खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट तीन जना बन्दी नाटकीयरुपमा फरार भएपछि प्रहरी जवान शम्शेर थापामगरलाई निलम्बन गरिएको छ।
शनिबार मध्यरातमा शौचालयको झ्याल फोडेर सार्वजनिक सुरक्षा अपराधअन्तर्गत पक्राउ परेका खजुरा–३ का निर्मल थापा र उज्वल कार्की तथा लागुऔषधसहित पक्राउ परेका स्थानीय सिमन विक छन् ।
उनीहरु ११ फिट अग्लो हिरासतमा रहेको फलामे झ्याल फोडेर भागेका थिए । घटनाका समयमा थापामगर हिरासतको सुरक्षामा खटिएका थिए।
दुई दिनअघि मात्र पक्राउ परेका विकसँग प्रहरीले लागुऔषध ब्राउनसुगर बरामद गरेकाले आइतबार म्याद थप गराएर थप अनुसन्धान गर्ने प्रक्रियामा थियो भने यही असार २३ गते पक्राउ परेका थापा र कार्कीको पाँच दिनका लागि म्याद थप गरिएको थियो ।
भाग्ने तीनै जना २० वर्ष भन्दा कम उमेरका रहेका प्रहरीले जनाएको छ ।
हिरासतमा रहेका पाँचमध्ये एकजना बिरामी भएपछि अस्पताल पु¥याइएको थियो भने गम्भीर अपराधका अर्का एकजना हिरासतमै सुतिरहेका थिए ।
इप्रका धनौलीमा प्रमुखका रुपमा रहेका प्रहरी निरीक्षक मख्खनप्रसाद यादव शनिबारदेखि बिदामा थिए । निमित्त इञ्चार्जको जिम्मेवारी लिएका प्रहरी नायब निरीक्षक चक्रबहादुर खत्रीले घटनाबारे केही बताउन चाहेनन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले घटनाको पुष्टि गर्दै हिरासतको सुरक्षामा खटिएका जवानलाई निलम्बन गर्दै थप अनुसन्धान अघि बढाइएको बताए ।
उनीहरुलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।
'उनीहरुलाई छिट्टै पक्राउ गरिनेछ', प्रहरी उपरीक्षक वलीले भने, 'सम्बद्ध सबैतिर प्रहरी परिचालन गरिसकिएको छ ।'
(रासस)