बुधबार राति पोखरामा एउटा चितुवा कुखुराको खोरभित्र देखा पर्यो।
कुखुरा कराए। नजिकै रहेको कुकुर भुक्यो। कुखुरा धनी पोखरा महानगर १६ सिप्लेकुनामा सोभित केसी कुखुरा र कुकुर किन कराए हेर्न गए। कुखुराको खोरको एउटा ढोका खुला रहेछ, बन्द गरे। सुत्न गए।
विहानपख पनि कुखुरा कराउन छाडेनन्। सवेरै कुखुरा हेर्न पुगेका केसीले खोरको एक कुनामा चितुवा देखे। खोरको ढोका लगाएर उनले प्रहरी र जिल्ला वन कार्यालयमा खबर गरे।
चितवन सौराहदेखि चितुवालाई लठ्याउने प्राविधिक टोली झिकाइयो। कुखुरा र मानिसलाई क्षति हुनबाट जोगाउन डाटिङ गरी चितुवा नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय कास्कीका सहायक बन अधिकृत शालिकराम पराजुलीले जानकारी दिए।
‘यतातिर कुखुरा र बाख्राको खोरमा चितुवा पसिरहन्छ,’ अधिकृत पराजुलीले सेतोपाटीसँग भने, ‘यसअघि हामीले यसै धपाउने गरेका थियौ। अहिले डाटिङ टिम बोलाउँदा धेरै हल्ला भएको हो।’ भोकाएको चितुवा सिकार खोज्दै कुकुरको खोजीमा कुखुरा खोर आइपुगेको उनले बताए।
ती खोरको सुरक्षाका लागि दुइटा कुकुर पालिएका छन्। चितुवाले कुकुर खान भने पाएन। ‘चितुवाको डरले हो कि पाँच÷सात वटा कुखुरा मरेका थिए। तर चितुवाले कुखुरा खाएको देखिएन,’ उनले भने।
चार वर्ष उमेर भएको पोथी चितुवा सिकारकै खोजीमा खोर पसेर थुनिएको उनको भनाइ छ। ‘कुखुराको खोर नजिकै जंगल छ। त्यहाँ दुइटा कुकुर पनि रहेछन्,’ उनले भने, ‘कुखुरा खानभन्दा पनि कुकुर खान त्यो चितुवा खोर पसेको हुनुपर्छ।’ सो चितुवा पोखरास्थि बन्यजन्तु उद्धार केन्द्रमा राखिएको छ।