टेकुस्थित श्री महेन्द्र सरस्वती आधारभूत विद्यालय प्रांगणमा बन्दै गरेको भवन शनिबार स्थानीयले भत्काएका छन्। पचली भैरवको गुठीको जग्गामा अवैधानिक ढंगमा बनाउन भवन बनाइएको भन्दै गुठीयार एवं स्थानीयले निर्माण पूरा हुन लागेको भवन भत्काएका हुन्।
स्कुल प्रांगणमा बन्दै गरेको भए पनि यो जग्गा पचली भैरवको हो। करिब १२ आनामा फैलिएको यो जग्गामा कुनै समय पोखरी थियो जसको दसैंमा हुने पचली जात्रामा विशेष महत्व हुन्थ्यो। पोखरी सुकेपछि गुठीले खाली जग्गा स्कुलका केटाकेटीलाई खेल्न भनेर दिएको थियो। यसरी दिइएको जग्गामा आफूहरूलाई खबरै नगरी धमाधम भवन निर्माण गर्न लागेपछि गुठीयार एवं स्थानीय आन्दोलित थिए।
शनिबार गुठीयार एवं स्थानीय त्यही विषयमा जनप्रतिनिधिसँग छलफल गर्न भेला भएका थिए। छलफल निष्कर्षमा पुग्नुको साटो जनप्रतिनिधिले नै गैरजिम्मेवार जवाफ दिएपछि आफूहरू आक्रोशित भएको स्थानीय भूषण बज्राचार्यले बताए।
‘हामी भवन निर्माणको काममा रोक लगाइयोस् भन्ने चाहन्थ्यौं। गुठीको जग्गाको पक्षमा बोल्दै काम रोक्का गर्नुको साटो उल्टो स्कुलकै पक्षमा जवाफ दिन थालेपछि हामी आक्रोशित भएका हौं,’ बज्राचार्यले भने।
स्थानीयका अनुसार स्कुलमा करिब सय जना विद्यार्थी पनि छैनन्। पहिलेकै भवन पनि स्कुललाई आवश्यकताभन्दा बढी हो। त्यस्तो अवस्थामा पनि गुठीले भोगचलन गर्न दिएको जग्गामा आँखा लगाइएको उनीहरूको तर्क थियो।
गुठीयार एवं स्थानीयले गुठीको जग्गाको पक्षमा सुनुवाइ नभएपछि बन्दै गरेको भवनको डण्डी काट्नुका साथै पर्खाल भत्काएका छन्।
निर्माणाधीन भवनको सामान समेत जलाइएको बज्राचार्यले बताए।
बज्राचार्यका अनुसार पहिले महेन्द्र सरस्वती विद्यालय सँगैको जगन्नाथ मन्दिर परिसरको पाटीमा थियो। पछि हाल भइरहेको जग्गामा बनेको हो जुन सडकसँगै जोडिएको छ। यो बाटो पनि टेकु दोभानका घाटसम्म शव लैजाने बाटो भएको उनले जानकारी दिए।
'शव हिँडाउने सडकमै जोडेर स्कुल बन्यो। सँगैको पोखरी सुकेको थियो, लौ न त केटाकेटी खेलून् भनेर गुठीले त्यसै छाडिदियो,' उनले भने।
पचली भैरवलाई स्थानीयहरू श्रद्धापूर्वक 'आजु' भनेर पुर्काछन्। स्कुल प्रांगणको पोखरी तिनै आजुको थियो। दसैंमा हुने पचली जात्रामा जाँडलाई प्रसादका रूपमा पचलीमा खनाइन्थ्यो। चढाइएको जाँड पञ्चनाली हुँदै पोखरीमा जम्मा हुन्थ्यो। पञ्चमीका दिन भक्तजनहरूले त्यही पोखरीको पानीले नुहाएर पचली भैरव आजुको दर्शन गर्छन्। यसरी नुहाउँदा रोग-व्यध नलाग्ने र सुख-शान्ति हुने जनविश्वास छ।
अहिले न यहाँ पोखरी छ, न त्यो परम्परा।
पोखरी सुकेपछि त्यसलाई ब्युँताउन कोही अघि सरेनन्। त्यसैले ०४१ सालतिर त्यही स्कुललाई दिइयो। यद्यपी, जग्गा दिने बेलामा कुनै पनि निर्माण कार्य गर्नुपरे गुठी संस्थान र नेपाल सरकारको पूर्व स्वीकृति चाहिन्छ। तर अहिलेको निर्माणबारे गुठीलाई नै थाहा नदिनु धोका भएको मन्दिरका गुठीयार सानु महर्जनका बताउँछन्।
'पोखरी त सुक्यो, स्कुलका केटाकेटी खेल्नु पनि पुण्यकै हो भनेर पो जग्गा दिएका थियौं। आवश्यकता नभएको संरचना बनाउँदै मनलाग्दी गर्न त दिएको होइन नि,' महर्जनले भने, 'यस्ता अनौतिक कार्य तुरुन्त रोक्नुपर्छ।'
स्थानीय र गुठीयारहरूको आपत्ति जग्गा भोगचलनमा छैन, नयाँ संरचना बनाएकोमा आक्रोशित भएको उनीहरू बताउँछन्। उनीहरूले न स्कुलको विरोध गरेका छन्, न त्यो जग्गा आफूले लिने भनेका छन्। उनीहरूको माग यत्ति हो- साना केटाकेटी खेल्न पाउनुका साथै खुला ठाउँ बाँकी रहोस्।
तर विद्यार्थी र शैक्षिक गुणस्तर बढाउन जोडबल गर्नुको साटो स्कुल पैसा कमाउनेतिर लागेकोमा आफूहरूले आपत्ति जनाएको स्थानीय बताउँछन्।
'आजको भेलामा त अब उक्त पोखरी ब्युँताउनेसम्मकाे कुरा आएको थियो,' बज्राचार्यले भने।