डाक्टर सन्दुक रुइतले स्थापना गरेको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो सहकार्य केन्द्र (कोल्याबोरेटिङ सेन्टर) को मान्यता दिएको छ।
सोमबार प्रतिष्ठान स्थापनाको २५ औं वर्ष पुगेको उपलक्ष्यमा तिलगंगा अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा संगठनका नेपाल प्रतिनिधि डाक्टर जोस भेन्डेलरको उपस्थितिमा सहकार्य केन्द्र मान्यताको घोषणा गरियो।
डब्लुएचओको सहकार्य केन्द्रको मान्यता पाउने तिलगंगा नेपालको पहिलो आँखा अस्पताल हो। आँखा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेवापत तिलगंगालाई आफ्नो सहकार्य केन्द्रका रूपमा मान्यता संगठनले जनाएको छ।
संगठनले प्रतिष्ठानको तीन मुख्य विधा; आँखा स्वास्थ्य सेवा, शैक्षिक तथा तालिम अर्थात आँखाको प्राविधिक जन शक्ति उत्पादन र अनुसन्धानमा सहकार्य केन्द्रको मान्यता दिएको हो।
प्रतिष्ठानले आँखा स्वास्थ्यको विशिष्ट सेवाहरू; आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा,आँखाको प्लाष्टिक सर्जरी,बाल आँखा, रिफ्याक्टिभ लेजर सर्जरी, आँखाको क्यान्सर साथै सामुदायिक आँखा सेवामा विशिष्ट तालिम प्राप्त नेत्र विशेषज्ञद्धारा सेवा प्रदान गरिरहेको छ।
त्यस्तै अध्ययन तथा तालिम विभाग अन्तर्गत आँखा सेवाको लागि चाहिने सबै प्रकारको जनशक्ति (नेत्र रोग विशेषज्ञ, अप्ट्रोमेट्रिष्ट,नेत्र सहायक, आँखा स्वास्थ्य कार्यकर्ता) उत्पादन गरिरहेको छ । त्यस्तै नेत्ररोग विशेषज्ञ, अप्ट्रोमेट्रिष्ट, नेत्र सहायक, मेडिकल विद्यार्थी, नर्स, स्वयंसेविका,सामुदायिक स्वास्थ्य कार्यकर्ता,सामुदायिक आँखा हेरचाह व्यवस्थापक आदिलाई छोटो तथा लामो अवधिको विभिन्न तालिम दिइरहेको छ। हालसम्म स्वदेश र विदेशका गरी ६११ जना नेत्र रोग विशेषज्ञ, ७३२ जना आँखा स्वास्थ्यकर्मी,१०,३०५ सामुदायिक स्वास्थ्य कार्यकर्ता र ६,९१६ मेडिकल विद्यार्थीलाई लामो, छाटो तथा अवलोकन तालिम दिइएको प्रतिष्ठानले जनाएको छ।
२५ औं वार्षिकोत्सव समारोहमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीले तिलगंगाका संस्थापक डाक्टर रुइतले उपचार क्षेत्रमा चमत्कारिक काम गरेको भन्दै प्रशंसा गरेका छन्।
‘डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ,’ ओलीले भने,‘आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन सफल हुनुभएको छ।’
डा.रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएको प्रधानमन्त्री ओलीको भनाइ छ। तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनु पर्ने ओलीले बताए।
स्थापनाको २५ वर्षमै धेरै उपलब्धी हासिल गर्न सकेको भन्दै प्रधानमन्त्री ओलीले रुइत र अस्पताललाई बधाई दिए।
‘तपाईंहरुका प्रयास र सेवा अनुकरणीय छन्’ ओलीले भने। अनुसन्धान, तालिम र उपचारका लागि अस्पतालले सरकारका तर्फबाट यथेष्ट सहयोग पाउने उनले बताए।