भिन्न कसुरमा कारागार सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी सकसमा दिनरात गुजार्दै आएका छन्।
बेँसीशहरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य भएका हुन्।
२५ पुरुष र १० महिला गरी ३५ जना कैदीबन्दी राख्ने क्षमता जिल्ला कारागारको छ। तर अहिले महिला र पुरुष कैदीबन्दी गरेर ८७ जना रहेको कारागारका सूचना अधिकृत रमेश विकले जानकारी दिए।
एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान रहेको छ। सो प्रावधानअनुसार कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ।
क्षमताभन्दा झण्डै तेब्बर बढी सङ्ख्यामा कैदीबन्दी राखिएसँगै उनीहरु विभिन्न खालका सास्ती भोग्न बाध्य छन्। पुरानो संरचना, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दिनरात गुर्जान निकै सास्ती भएको कैदीबन्दी बताउँछन्। गर्मीको मौसम भएकाले यतिबेला उनीहरुलाई शितलको व्यवस्था नभएको र वर्षायामको पानी चुहिएर उस्तै समस्या हुने गरेको उनीहरुको भनाइ छ।
गर्मीले उकुसमुकुस त बनाउँछ नै वर्षाको पानी ओछ्यानमै छिर्ने हुँदा सुत्न निकै कठिनाइ भइरहेको पाँच वर्षदेखि कैद सजय भोग्दै आएका महेन्द्र गुरुङले बताए।
कारागारको पर्खालदेखि सुत्ने ठाउँको भवन जीर्ण भएकाले कतिबेला भत्किएर ज्यान लिन्छ कि भन्ने त्रासैत्रासमा दिनरात बिताउँदै आएको चौकीदार दिनेश परियारले बताए।
उनले भने, 'यति मात्रै नभई गर्मीको समयमा धेरै जना एकै ठाउँमा कोचिएर खान बस्नदेखि सुत्नु पर्दा निकै आपत हुने गरेको छ।'
कैदीबन्दी बस्ने ठाउँ फराकिलो र नयाँ संरचना भएमा सहज हुने उनको भनाइ छ। धेरै कैदीबन्दी भएकाले शौचायलय जानसमेत पालो कुरेर बस्नुपर्ने, त्यहीमाथि दुर्गन्धित भएकाले रोग लाग्ने सम्भावना रहेको सात वर्षदेखि कैद सजाय भौग्दै आएका जीतबहादुर अधिकारीको भनाइ छ।
ठाउँ अभावमा हिँड्ने बाटोमा सुत्नुपर्ने हुँदा श्वास फेर्नसमेत गाह्रो भएको विजय तामाङले बताए। 'राणाकालको आखीझ्यालजस्तो हामी बस्ने ठाउँ छ। धेरै बस्दा एकअर्काको रोग सर्ने सम्भावना पनि धेरै छ', उनले भने।
ओछ्यानमा उडुस परेकाले त्यसले टोकेर सुत्नै मुस्किल हुँदा राम्रोसँग सुत्नसमेत नपाएको सात वर्षदेखि कैद सजाय काट्दै आएकी राधा केसीले बताइन्।
उनले भनिन्, 'महिला कैदीबन्दी सुत्ने ठाउँमा समेत पानी चुहिने गरेकाले हामीलाई धेरै समस्या भइरहेको छ।'
सङ्ख्याको आधारमा कारागाराका लागि आठ रोपनी क्षेत्रफल आवश्यक पर्नेमा करीब चार रोपनी क्षेत्रफलमा कार्यालयदेखि कैदीबन्दी बसोबास गर्ने संरचना निर्माण गरिएको कारागारका सूचना अधिकृत रमेश विकले जानकारी दिए।
कारागार पुरानो र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुलाई विभिन्न समस्या हुने गरेको उनको भनाइ छ। खान, बस्न, सुत्नदेखि शौचायलय जानसमेत उनीहरुलाई कठिन भइरहेको र सम्बन्धित ठाउँमा समस्याको समाधान गर्न पहल गरिरहेको उनले बताए।
सम्बन्धित निकायबाट उक्त कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ/हुँदैन भनेर गत वर्ष माटो परीक्षणको कामसमेत भइसकेको छ। नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो। तर अहिलेसम्म पनि कुनै काम अघि बढ्न नसकेको कारागारले जनाएको छ।
'क्षमताभन्दा बढी र पुरानो संरचना हुँदा धेरै समस्या भइरहेको छ। यो नेपालकै पुरानो कारागारमध्ये एक हो', निमित्त प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले भने।
दिनहुँ कैदीबन्दी थपिदै जाँदा नयाँ भवन निर्माण गर्नुपर्ने भए पनि नयाँ भवन उपलब्ध हुन नसक्दा विभिन्न समस्या भइरहेको उनको भनाइ छ। यस्तो संरचनामा कैदीबन्दी राख्दा उनीहरुको मनोवलसमेत गिर्ने भएकाले कारागार व्यवस्थापन विभागमा लेखापढी गरेर आवश्यक पहल गर्न अनुरोध गरिसकेको प्रजिअ शाहीले बताए।
जिल्लाको कुन्छाबाट विसं २०२८ तिर सदरमुकाम सरेर बेँसीशहर सदरमुकाम बनेको बेलामै निर्माण गरिएको उक्त कारागार हो। सो बेला निर्माण भएको कारागारको अहिलेसम्म पनि खासै मर्मत तथा आवश्यकताअनुसार कारागारको भवन निर्माण हुनसकेको छैन।
यसलाई थप व्यवस्थित र कैदीबन्दीलाई मध्यनजर गरेर सोहीअनुरुप संरचना निर्माण नहुँदा यस्ता समस्या देखिएको छ। जीर्ण बन्दै गर्दा कारागारमा विभिन्न समस्या उत्पन्न हुने गरेको छ।
उनीहरुमध्ये ७७ कैदीबन्दी पुरुष र १० कैदीबन्दी महिला रहेका छन्। तीमध्ये ४७ कैदी पुरुष र आठ कैदी महिला रहेको कारागारले जनाएको छ। त्यस्तै ३५ पुरुष र दुई महिला थुनुवा (पुर्पक्षका लागि राखिएको) रहेका छन्।
कैदीमध्ये बढी जबर्जस्ती करणी उद्योगका १२, कर्तव्य ज्यान मुद्दाका ११ पुरुष र छ महिला कैदीबन्दी रहेका छन्। रासस