प्रिन्सी र प्रिज्मा खतिवडा। दीपा र दमन्ता श्रेष्ठ। अमर र अमृत दाहाल।
टिकटकमा टुकटुक औंला सार्नेहरूमध्ये कमैले मात्र यी नाम थाहा नपाएका होलान्। नाम याद नभए पनि अनुहार पक्कै सम्झेका होलान्।
यी जुम्ल्याहा दिदीबहिनी–दाजुभाइ हुन्, जो टिकटकमा चर्चित छन्।
उस्तै अनुहारका यी 'सिब्लिङ' जोडीका 'फलोइङ' टिकटकमा दस लाख कटिसकेको छ। टिकटकमा प्रिन्सी र प्रिज्माका फलोअर पचास लाखभन्दा बढी छन् भने इन्स्टाग्राममा झन्डै दुई लाख नजिक छन्।
दीपा र दमन्ता भर्खर–भर्खर म्यूजिक भिडिओमा देखिन थालेका हुन्। उनीहरूको टिकटकको संयुक्त खाता पनि दस लाखले पछ्याइसकेका छन् भने इन्स्टाग्राममा २४ हजार हाराहारी भइसके। उता अमर र अमृत पनि फलोअर बटुल्दै टिकटकमा दस लाख नजिक पुग्दै छन्।
यति मात्र होइन, यी जुम्ल्याहाका नाममा अरूले खोलेका 'फ्यान पेज' र खातामा समेत पछ्याउनेहरू हजारौं छन्।
एकैखाले लुगा र हाउभाउमा प्रस्तुत हुने उनीहरू अचेल सामाजिक सञ्जालमा मात्र सीमित छैनन्, म्युजिक भिडिओ र विज्ञापनमा समेत देखिन थालेका छन्। उनीहरूको 'क्रेज' नाम चलेका कलाकारको भन्दा कम छैन।
कुनै जमाना थियो, जब जुम्ल्याहाहरू उमेर बढेसँगै उस्तै लुगा लगाउन हिच्किचाउँथे। हाम्रै पनि कसैसँग लुगा मिल्यो भने 'जुम्ल्याहा जस्तो' भन्ने टिप्पणी पाइन्थ्यो।
अचेल जुम्ल्याहाहरू सामाजिक सञ्चालमा 'सेलेब्रेटी' बनेका छन्। यी जुम्ल्याहा जोडीका सामाजिक सञ्जाल हेर्नुभयो भने थाहा पाउनुहुनेछ, उनीहरू एकआपसमा परिचित छन्। जुम्ल्याहाहरू एकआपसमा भेट्ने र सँगै भिडिओ बनाउने क्रम उकालो लाग्दै छ।
यी तीन जुम्ल्याहा जोडीसँगै आजकाल सामाजिक सञ्जालमा इक्षिता र विक्षिता तिवारी पनि जोडिएका छन्। अरू थुप्रै जुम्ल्याहा अचेल सामाजिक सञ्जालमा आफूहरूलाई 'उस्तै देखाउन' थालेका छन्।
यो 'ट्रेन्ड' नेपालमा मात्र होइन। संसारभर इन्टरनेट जगतमा जुम्ल्याहाको प्रभाव बढ्दो छ। र, उनीहरूलाई चाहनेहरू पनि उत्तिकै।
विश्वव्यापी कुरा गर्ने हो भने, अमेरिकाका इथन र ग्रेसन डोलान सामाजिक सञ्जालमा एकदमै चर्चित मानिन्छन्। 'डोलान ट्विन्स' भनेर चिनिने यी १९ वर्षे युवाका युट्युबमा एक करोडभन्दा धेरै 'सबस्क्राइबर' छन्। इन्स्टाग्राममा अझ बढी।
उनीहरूका पछिपछि छन्, रिब्का ट्विन्स, निकी र गाबी डिमार्टिनो र ब्रुकलिन र बेली म्यानाइट। यिनीहरू युट्युब 'स्टार' नै हुन्। उनीहरू नाच्छन्, गाउँछन्, अभिनय गछर्न्, मेकअप गर्न सिकाउँछन्, शारीरिक व्यायामका तकनिक देखाउँछन्, कुनै सामानको समीक्षा गर्छन्। वा भनौं उनीहरूले जे गरे पनि हिट नै हुन्छन्।
यसको ज्वलन्त उदाहरण लोकप्रिय अमेरिकी युट्युबर जेक पलले दिएका छन्। उनी युट्युबमा 'अन्टसन्ट' रमाइला भिडिओ हाल्छन्। उनका धेरै भिडिओमा मार्टिनेज र डोब्र 'ट्विन्स' हुन्थे। भिडिओ यी जुम्ल्याहा जोडीका कारण हिट हुन्थे। दुई वर्षअघि यी दुवै जोडीले जेकको साथ छाडे। तर जेकलाई थाहा छ, भिडिओमा जुम्ल्याहाको 'माग' कति छ। यसैले उनले नयाँ जुम्ल्याहासँग सहकार्य थालेका छन्।
केही महिनाअघि अमेरिकामा भएको अनलाइन–भिडिओ सम्मेलन 'भिडकन'ले जुम्ल्याहासँग सम्बन्धित विषय कसरी बनाउने भन्ने तालिम नै दिएको थियो। त्यसमा कयौं जुम्ल्याहामध्ये एक थिए जोनस्टोन ट्विन्स। उनीहरूको युट्युबमा ६ लाख ३५ हजारभन्दा बढी फलोअर छन्। १५ वर्षीया जेडा र जेना दिदीबहिनीले दुई वर्ष अघिदेखि जुम्ल्याहा 'प्रभाव'मा काम गर्दै आएका हुन्।
उनीहरू भन्छन्, 'सुरूमा हामीलाई यसबारे खासै थाहा थिएन। अब भने हामी कसरी आफूहरूको लोकप्रियता बढाएर चर्चित हुने भन्नेमा ध्यान दिन थालेका छौं। हामीलाई यी तकनिक सिक्नुछ।'
हुन त जुम्ल्याहामा हाम्रो समाजको चासो नयाँ होइन। संसारका केही धर्ममा जुम्ल्याहाको पूजा पनि गरिन्छ। वैज्ञानिकहरू पनि यिनको अध्ययन गर्छन्। फिल्म र टेलिश्रृंखलाहरूमा उनीहरू देखापर्छन्। नब्बे दशकमा हामीले यी कुरा देख्दै आए पनि अहिलेजस्तो दबदबा जुम्ल्याहाको यसअघि थिएन। इन्टरनेट चर्चित हुन चाहने जुम्ल्याहाका लागि वरदान बनेको छ।
अझै रोचक के छ भने, अचेल इन्टरनेटमा मात्र होइन, समाजमै जुम्ल्याहाको संख्या बढेको छ। अमेरिकाको 'नेसनल सेन्टर फर हेल्थ स्ट्याटिस्टिक्स'को प्रतिवेदनअनुसार जुम्ल्याहा बच्चा जन्मने दर पछिल्ला दुई दशकमा एकदमै बढेको छ। सन् १९८० देखि २००९ सम्म आइपुग्दा ७६ प्रतिशत बढेको पाइयो। यो भनेको ३० जना बच्चामध्ये एक जुम्ल्याहा हो। यो वृद्धिदर घटेको छैन। त्यसैले अहिले इतिहासमै सबभन्दा बढी जुम्ल्याहा छन्। यिनै जुम्ल्याहा अचेल टिकटक, इन्स्टाग्राम र युट्युबमा देखिन थालेका हुन्।
इन्टरनेटमा जुम्ल्याहाको प्रभाव सामान्य प्रयोगकर्ताको तुलनामा धेरै हुने गरेको अध्येताहरूले पुष्टि गरेका छन्। इन्टरनेटमा 'हिट' हुन अरूलाई कुनै खास गतिविधि नै गर्नुपर्छ। जुम्ल्याहाको भने समानता नै धेरै हदसम्म काफी हुने उनीहरू बताउँछन्।
यसबारे 'स्टुडियो ७१' कम्पनीका ड्यान विन्सटाइन भन्छन्, 'जुम्ल्याहाहरूको विषयमा युट्युब र अन्य सामाजिक सञ्जालहरूको गणितमा खुबै तालमेल मिलेको छ। यही कारण अचेल जुम्ल्याहा इन्टरनेटमा धेरै देखिन थालेका हुन्।' उनी किशोर जुम्ल्याहाहरूसँग काम गर्न रूचाउँछन्।
जुम्ल्याहाहरूको 'केमेस्ट्री' मिल्छ, प्रेममा परेको जोडीझैं। जसरी मान्छेलाई प्रेमजोडीका भिडिओ मनपर्छ, जुम्ल्याहाको पनि त्यस्तै हुने अध्ययनले देखाएको छ।
धेरै आमाबाबुले पनि आफ्ना जुम्ल्याहा सन्तानलाई सानो उमेरदेखि नै सामाजिक सञ्जालमा सक्रिय बनाइरहेका छन्। बच्चाहरूका लुगाको 'फेसन' गर्न होस् वा खेलौनाबारे समीक्षा गर्न, जुम्ल्याहाकै प्रभाव बढी देखिन्छ।
जुम्ल्याहाहरू इन्टरनेटबाट नाम र दाम दुवै कमाइरहेका छन्। यो काम उनीहरूका निम्ति भने सहज नभएको केही विदेशी जुम्ल्याहाले बताएका छन्। सामान्य जोडी वा एक्लै व्यक्तिले भिडिओमा हाउभाउ दिँदा तालमेल मिलाउनुपर्ने कुनै बाध्यता हुँदैन। जुम्ल्याहाले भने अधिकांश यही काममा तल्लीन हुनुपर्ने पाइएको छ।
उनीहरूका अनुसार इन्टरनेट उनीहरूको समान हाउभाउ र एकै समयमा, एकैखाले मान्छेले गरेका एकैखाले गतिविधि हेर्न रूचाउँछन्। त्यसैले जुम्ल्याहाले यसमा निकै ध्यान दिनुपर्छ। यसका साथै आफ्नो व्यक्तिगत जीवन एकदमै कम हुने पनि उनीहरूले बताएका छन्। सामाजिक सञ्जालमा आफूहरूको लोकप्रियता कायम गर्न उनीहरू मिलेर काम गर्नैपर्छ। तर जस्तै असहज भए पनि उनीहरू यसमा लागिपरेका छन्। उनीहरूको मिहिनेतलाई अधिकांशले सरहाना गर्छन्।
जुम्ल्याहा दाजुभाइ–दिदीबहिनी हुन् वा दाजुबहिनी–दिदीभाइ, इन्टरनेटमा समान अनुहार हिट हुँदैछन्। र, यसको प्रभाव नेपालमा कति छ भन्ने प्रमाण प्रिन्सी–प्रिज्मा, दीपा—दमन्ता श्रेष्ठ र अमर–अमृत दाहालले दिइसकेका छन्।
तपाईंले सामाजिक सञ्जाल चहार्नुभयो भने, 'ट्रेन्डिङ' मा 'ट्विन्स' नै पाउनु हुनेछ।
(अमेरिकी अखबार 'द एट्लान्टिक' को सहयोगमा तयार पारिएको)