हात्तीकै कारण उनीहरू एकअर्कासँग नजिकिए। हात्तीले नै उनीहरूबीच प्रेम बसायो। र बिहे पनि गरे।
ठगा पजियार र सुनयना पजियार हात्तीले जुराइदिएका जीवनसाथी हुन्।
४८ वर्षीय ठगाले चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर हात्तीसारमा माउते भएर ३० बसन्त बिताइसके। आफ्ना बुबालाई सर्लाहीबाट पछ्याउँदै चितवन आएका उनी २०४६ सालमा माउते बनेका थिए।
यहीक्रममा ठगाको सुनयनासँग भेट भयो। सुनयना उनकी 'साली' पर्थिन्। सुनयनाका बुबा पनि माउते थिए। उनी बुबासँग हात्तीसारै बस्थिन्। एकै ठाउँ बसेपछि ठगा र सुनयनाबीच विस्तारै कुरा हुन थाल्यो। कुरा गर्न ठगा नै अघि सर्थे।
'उनी मेरी साली पर्थिन्। उमेरले मभन्दा कान्छी पनि। त्यसैले मै बोलाउँथे,' ठगाले प्रेम प्रसंग कोट्याए।
बातचित हुँदाहुँदै उनीहरू कतिखेर नजिकिए, दुवैले पत्तो पाएनन्। परिवारलाई यसबारे खबरै थिएन। उनीहरू मेसो मिलाएर भेट्थे।
ठगा बिहानै हात्ती चराउन जंगल निस्किन्थे। सुनयना पनि साग टिप्न साथीहरूसँग निस्किन्थिन्। उनीहरूबीच भेट्ने सल्लाह बिहानै भइसक्थ्यो।
सुनयना साग टिपेर ठगा भएको ठाउँ पुग्थिन्। अनि उनीहरू दिनभर हात्तीमा जंगल घुमेर साँझ घर फर्किन्थे।
'हात्ती पनि अघाउँथ्यो, साग पनि ल्याइन्थ्यो,' प्रेमकहानी सुनाइरहँदा दुवै जना लजाइरहेका थिए।
प्रेमको लुकाछिपी चलिरह्यो। हात्ती सारथी बनिरह्यो। हात्तीमाथि बसेर ठगा र सुनयना हात्तीकै कुरा गर्थे। ठगाले सुनयनालाई हात्तीका बारेमा सबै कुरा सुनाउँथे। सुनयनाले हात्ती देखेकी मात्र थिइन्। ठगाको संगतमै कसरी चराउने भन्ने पनि सिकिन्।
प्रेम यात्राले लामो फड्को मारेपछि उनीहरूले सम्बन्धबारे परिवारमा खुलासा गरे। नातेदार पर्ने भएकाले कुरा छिन्न अप्ठ्यारो भएन। लगनगाँठो गाँसियो।
ठगा माउतेको काममै व्यस्त हुन्थे। फुर्सद मिल्नसाथ सुनयना उनीसँगै हात्ती चराउन जंगल जान्थिन्। त्यति बेलासम्म ठगाले ऐरावतगज हात्तीको हेरचाह गर्थे। ऐरावतगजको मृत्युपछि उनले बहादुरगज हेर्ने जिम्मा पाए।
बहादुरगज सम्हाल्न ऐरावतगज जस्तो सजिलो भएन। बहादुरगज हात्तीसारकै बेइमान हात्ती थियो।
'भनेको बेला उठ्न नमान्ने, हिँड्न नमान्ने। अरु हात्तीलाई हान्दिने बहादुरगजको स्वभाव थियो,' ठगालाई गाह्रो भयो।
यो सब सुनयना देख्थिन्। श्रीमानका दुःख देखेर मन खिन्न हुन्थ्यो। सकेसम्म सघाउँथिन्। दुःखका बाबजुद उनलाई पनि माउते बन्न मन मनलाग्यो।
'श्रीमानलाई केही सुख होला' उनले सोचेको थिइन्।
महिला माउतेका लागि खुलेको विज्ञापनमा सुनयनाले आवेदन दिइन्। नाम निस्कियो।
'नाम निक्लिँदा जागिरभन्दा पनि उहाँलाई सहयोग गर्न पाउने भएँ भनेर खुसी थिएँ,' सुनयना भन्छिन्।
२०७४ साल असोजदेखि उनी माउतेको काम गर्दै आएकी छिन्। सुरुमा त धेरैले खिसीटिउरी पनि गरे रे।
'महिलाले कसरी हात्ती हेर्न सक्छ?' यस्तै नानाथरी सुन्नुपरेको उनी सम्झिन्छिन्। सुनयनासहित चितवन राष्ट्रिय निकुञ्जमा सात जना महिला माउते छन्।
ठगा र सुनयनाका दुई सन्तान छन्। छोरा पनि निकुञ्जमै माउते भइसके। छोरी कक्षा १२ मा पढ्दैछिन्। सन्तानजत्तिकै माया उनीहरूलाई हात्तीको पनि लाग्छ। जीवन नै हात्तीसँग उठबस गरेर बिताएका छन्।
'छोराछोरी जत्तिकै माया लाग्छ नि। यही हात्तीले जोडी मात्र होइन जीवन नै धानिदिएको छ,' उनीहरू दुवै भन्छन्।
त्यसैले त कहिलेकाँही हात्तीको लात्ती उनीहरूलाई सामान्य लाग्छ।
'मलाई पचासौं पल्ट हानिसक्यो। तर के गर्नु, जति बदमास भए पनि माया लाग्छ। यसलै गर्दा परिवार पालिएको छ,' ठगाले भने।
उनीहरूको काम सहज छैन। बिहान जंगलबाट हात्तीले मन पराउने वर, पिपल, उखु, बरुवा, ढड्डी झड्काका भारी ल्याउनुपर्छ। दिउँसो फेरि हात्ती चराउन जंगल छिर्नुपर्छ।
सरकारी हात्ती भएकाले निकुञ्जका आर्मी र अन्य कर्मचारीलाई लिएर कहिलेकाँही जंगल डुल्नुपर्छ। हात्तीको हेरचाहसँगै सबै माउतेको काम निकुञ्जमा हुने चोरीशिकारी नियन्त्रण गर्नु पनि हो।
'निकुञ्जका जनावरको रेखदेख पनि गर्नुपर्छ,' ठगा सुनाउँछन्, 'परेका बेला २४ सै घन्टा काम गर्नुपर्छ। घामपानी केही भन्न पाइँदैन।'
यसरी चौबिस घन्टा हात्तीसँगै हिँड्ने माउतेहरूले हात्तीसँग कसरी सञ्चारसंवाद गर्छन्?
'हात्तीले हामीले भनेको बुझ्छन्। बुझ्ने तरिका हात्तीअनुसार फरक हुन सक्छ,' ठगा भन्छन्, 'हात्तीसँग समय काट्न गाह्रो हुँदैन।'
सुनयना यसै भन्छिन्, 'दिनभर जंगलै हुँदा पनि समय गएको पत्तो हुँदैन। हात्तीसँग बोलिरहँदा, हिँडिरहँदा खुसी लाग्छ।'
हात्तीसँग मुडअनुसार व्यवहार गर्न सकेन भने आक्रमण गर्न सक्ने उनीहरू बताउँछन्।
'रिसायो भने माउतेलाई समेत हान्न आउँछ,’ ठगा भन्छन्, 'त्यति बेला मुड ख्याल गरेर फकाउनु पर्छ।'
हात्तीका कारण माउतेले ज्यान गुमाएका घटना मुडअनुसार व्यवहार नगरेकै कारण भएको उनको बुझाइ छ।
'हाम्रो पेशाको ठेगानै हुन्न। जनावरसँग काम गर्नुपर्दा कति बेला मरिन्छ,' उनी भन्छन्,'तर हात्ती चढिसकेपछि र नियन्त्रणमा लिइसकेपछि डराउनु हुँदैन। डर माने हात्तीले हेप्छ।'
त्यसैले ठगा जंगल गएका बेला कहिलेकाँही हात्तीमाथि नै मस्त सुतिदिन्छन् रे।
हात्ती लिएर हिँडेका बेला कहिलेकाँही जंगली जनावरसँग भेट हुन्छ। कुनै हात्ती डराउँछन्, अधिकांश हात्तीले प्रतिकार गरिहाल्छन्।
'त्यसैले माउते डराउनु पर्दैन। बहादुरगजलाई पनि कतिपटक बाघले आक्रमण गर्न खोज्यो। तर मलाई कहिल्यै डर लागेन,' ठगा निश्चिन्त हुन्छन्।
सौराहा पूर्वी सेक्टरको हात्तीसारमा अहिले ९ वटा हात्ती छन्। हरेकको हेरचाहका लागि तीन जना माउते। पोहोरसम्म ठगा र सुनयना एउटै हात्तीको स्याहार गर्थे। विगत ६ महिनादेखि छुट्टाछुट्टै छन्।
'श्रीमानश्रीमती एउटै हात्तीको स्याहारमा जुट्दा धेरै सहज हुन्थ्यो। उनलाई विनाकारण सिमसारकलीमा सारियो,’ ठगाले गुनासो गरे।
उनीहरूलाई बिछोडिएको महशुस हुन्छ। सुनयना बहादुरगजलाई निकै 'मिस' गर्छिन्। सुरूदेखि नै बहादुरगजसँग नजिक सुनयना माउते भएपछि बाहदुरगजकै हेरचाहमा खटिएकी थिइन्।
'बहादुरगजले दु:ख दिएको देखेर काम सिकेकी थिएँ। सँगै काम गर्दा बुढाबुढीले सघाउँछौं भन्ने थियो। अहिले छुट्टिनु परेको छ,' उनले असन्तोष पोखिन्, 'अर्को मान्छेसँगै घाँस काट्न जाँदा मानिसहरू अनेक कुरा काट्छन्।'
बहादुरगजबाट सिमसारकलीमा सरुवा गर्दा एकवचन नसोधिनू उनले महिला भएर हेपेको रुपमा बुझेकी छिन्।
'जुन कुरामा पनि महिलाई झुकाएकै हुन्छन्। महिनावारी हुँदा ५ दिन बिदा हुन्छ। त्यो बेलामा पनि काम नगरेको भनेर हाकिमहरू प्रश्न गर्छन्,' उनले भनिन्।
माउते हुनुअघिदेखि नै काम सघाएकी श्रीमती अर्को हात्तीमा गएपछि ठगाको व्यस्तता बढेको छ।
भन्छन्, 'उनले बहादुरगजको सबै काम सघाएको थिइन्। अहिले मबाहेक अरू माउतेले बाँध्न सकेका छैनन्। राम्रै थियो। एक वचन नसोधी सुनयनालाई सरुवा गरेकोमा चित्त दु:खेको छ।'
नदुखोस् पनि कसरी, त्यही हात्तीका कारण उनीहरू एकअर्कासँग नजिकिए। उनीहरूबीच प्रेम बस्यो। र बिहे भयो।
हात्तीले जुराइदिएका जीवनसाथी ठगा र सुनयनाको एउटै इच्छा छ- दुवै जना बहादुरगजसँगै काम गर्ने।