अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित सोमबार सिरहाबाट नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीलाई पक्राउ गरेको छ ।
आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले विष्णपुर गाउँपालिका–१ चौकस्थित होटलबाट ८० हजार रूपैयाँ घुससहित नेपाल विद्युत् प्राधिकरण सिरहा शाखाअन्तर्गतको विष्णुपुर वितरण केन्द्रमा कार्यरत इलेक्ट्रसियन छेदी साह सुनारलाई पक्राउ गरेको हो ।
करारमा जागिर लगाइदिने भन्दै स्थानीय एक जनासँग लिएको सो घुस रकमसहित साहलाई पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि बर्दिवास लगिने जनाइएको छ ।
(रासस)