चितवनको भरतपुर महानगरपालिकाले विद्यालय तहमा आफ्नै पाठ्यक्रम लागू गर्ने भएको छ।
शैक्षिक सत्र २०७७ देखि कक्षा १ देखि ८ सम्म नयाँ पाठ्यक्रमअनुसार पठनपाठन सुरू गराउने महानगरले तयारी गरेको हो।
स्थानीय स्तरमा रहेका धार्मिक, साँस्कृतिक, वातावरण र स्वास्थ्यलगायतका विषय समेटेर पाठ्यक्रम तयार गरिएको महानगरका शिक्षा समिति सदस्यसमेत रहेका शिक्षाविद् रमाकान्त सापकोटाले जानकारी दिए।
‘पाठ्यक्रममा के–के समावेश गर्ने छलफल गरिराखेका छौं, यो वर्ष पाठ्यपुस्तक नै तयार हुन्छ,’ उनले सेतोपाटीसँग भने, ‘चितवनमा बोलिने भाषा के(के हुन्, विविधता कस्ता छन् भन्ने पनि अध्ययन गरेर राखेका छौं।’
स्थानीय खेल, पेशा, जडिबुटीका विशेषता, धार्मिक तथा पर्यटकीय स्थलहरू, मठमन्दिरलगायत विषय पाठ्यक्रममा समावेश गर्ने उनले जानकारी दिए। ‘स्थानीय सामाजिक तथा वातावरण विषयमा यहाँका बालबालिकाले सामान्य ज्ञान त्यही पुस्तकबाट पाउनेछन्,’ उनले भने।
पाठ्यक्रम तयार गर्न ‘हाम्रो गौरव हाम्रो भरतपुर’ नाम दिएर अध्ययन गरिराखिएको छ। ‘पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगिसकेको छ,’ महानगरको शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले भने, ‘आगामी वर्षदेखि लागू हुने गरी स्थानीय पाठ्यक्रम बनाउने काम भइराखेको छ।’
पाठ्यक्रममा भरतपुर महानगरको परिचय, पर्यटन तथा पूर्वाधारहरू, वातावरण, धर्म, संस्कृति र परम्परा, विपद व्यवस्थापनलगायत विभिन्न नौ वटा क्षेत्र रहनेछन्। असोज पहिलो साता पाठ्यक्रम महानगरबाट पास गरेपछि पाठ्यपुस्तक लेखन सुरू हुने उनले जानकारी दिए।
‘असोजदेखि पाठ्यपुस्तक लेखन सुरू गरिन्छ,’ उनले भने। पाठ्यक्रम र पाठ्यपुस्तक नेपाली भाषामा तयार हुने उनको भनाइ छ। ‘समुदायअनुसार विभिन्न भाषामा अनुवाद गर्न पनि सकिन्छ,’ उनले भने।
पाठ्यक्रम महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा लागू गर्ने महानगरले जनाएको छ। महानगर र वन्यजन्तु संरक्षण नेपालको सहकार्यमा पाठ्यक्रम तयार गर्न लागिएको हो। संविधानले नै स्थानीय तहलाई कक्षा १२ सम्मको शिक्षा हेर्न सक्ने अधिकार दिएको छ।