धादिङको गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीबजार नजिकैको पृथ्वीराजमार्ग खण्डमा केही दिनयता दिनहुँ घण्टौंसम्म छिनछिनमै सवारी आवागमन अवरूद्ध हुनेक्रम बढ्दै गएको छ।
खेतबाट निरन्तर रूपमा लेदो मिसिएको रातो माटो बग्दै सडकमा थुप्रिने क्रम बढेपछि राजमार्ग भएर गुड्ने सवारी साधन प्रभावित हुन पुगेका हुन्।
देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारी साधन यही सडक भएर गुड्ने गर्दछन्।
पृथ्वीरामार्गको गल्छीबजार भन्दा केही माथिको सडक खण्डमा केही दिनदेखि माथिबाट आएको रातो माटोको लेदो सडकमा खस्नेक्रम जारी छ।
लेदो सडकमा खस्न थालेपछि एक सातायता दैनिक एक सय पटकभन्दा बढी सवारी आवागमन रोकिने गरेको स्थानीयको भनाइ छ। पहिरोले सवारी आवागमन रोकिँदा सयौं सवारी साधन रोकिनुका साथै बिरामी बोकेका एम्बुलेन्सहरू समेत प्रभावित हुन पुगेका छन्।
गल्छी गाउँपालिका–७ को डल्टारको खेतमा सिँचाइको लागि लगाइएको पानीले खेतबाट रातो माटोसहितको लेदो बग्दै सडकमा गएर थुप्रिने गरेको कारण गत वर्ष पनि यही ठाउँमा महिनौं दिनसम्म दिनहुँ जस्तो सडक अवरूद्ध भएको थियो।
राष्ट्रिय राजमार्ग छिनछिनमा अवरूद्ध भएर हजारौं यात्रुलाई सास्ती हुन थालेपछि पहिरो हटाउन गाउँपालिकाले दिन रात नभनि डोजर लगाइरहेको गल्छी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरि खतिवडाले बताए।
खेतमा पानी लगाएको समयमा मात्रै जमिन बग्दै पहिरो खस्ने र सो पहिरोले सडकमा गाडी रोकिँदा हजारौं यात्रुबीच बाटोमा नै बिचल्ली पर्ने गरेका छन्।
केही दिनयता घण्टौंसम्म राजमार्गमा सवारीसाधनको लाम देखिने गरेको स्थानीय सुवर्ण खतिवडाले बताउँछन्।
पहिरो खसेको सडकखण्डभन्दा माथि ठाउँ/ठाउँमा जमिन चिरिन थालेपछि आसपासका बासिन्दा समेत पहिरोको जोखिमबाट त्रसित हुनु पर्ने अवस्था आएको स्थानीय राजकुमार रिमालले बताए।
तस्बिरहरू : केशव अधिकारी