अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी र्यालीमा आत्मघाती हमला भएको छ।
सेप्टेम्बर २८ मा हुने चुनावमा फेरि राष्ट्रपति बन्न उम्मेदवारी दिएका घानीले अहिले चुनावी प्रचार गरिरहेका छन् ।
उत्तरी अफगानिस्तानको चरिकार सहरमा घानी सहभागी भएको र्यालीमा मंगलबार दिउँसो आत्मघाती हमला भएको हो। हमलामा परी २४ जना नागरिकको ज्यान गएको छ।
विस्फोटबाट घानीलाई भने केही नभएको उनका सहयोगीहरूले जनाएका छन्।
विस्फोटको जिम्मा कसैले लिएको छैन। तर अतिवादी समूह तालिवानले हमला गरेको हुन सक्ने अनुमान गरिएको छ।
अमेरिकासँगको वार्तामा कुनै प्रगति नभएपछि तालिवानले पछिल्लो समय आत्मघाती हमलालाई तीव्र पारेको छ।
अमेरिकाले १८ वर्षदेखि अफगानिस्तानमा सेना राखेको छ। तालिवानसँग वार्ता गरेर सेना फिर्ता गर्ने अमेरिकाको तयारी थियो। तर गत साता वार्ता भंग भयो।
मानिसहरूलाई त्रसित बनाएर सेप्टेम्बर २८ को मतदानमा सहभागी हुन नदिने आफ्नो रणनीति भएको तालिवानले जनाएको छ।