काठमाडौं जिल्लालाई खुला दिसामुक्त जिल्लाका रूपमा घोषणा गरिएको छ।
मंगलबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेश सांसद नारायण सिलवालले काठमाडौं जिल्ला खुला दिसामुक्त भएको पत्र पढेर घोषणा गरेका हुन्।
घोषणा सभामा बोल्दै प्रदेश सभा सदस्य नारायण सिलवालले खानेपानी र सरसफाइलाई सभ्यतासँग जोडेर एकीकृत र समन्वयात्मक कार्यक्रम सञ्चालन गरेर पूर्ण सरसफाइतिर लाग्नुपर्ने बताए।
सभामा खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्ला स्तरीय समन्वय समितिका सदस्य सचिव हरिदत्त पौडेलले काठमाडौंलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियानका क्रममा ५५ हजार ५०० चर्पी बनाउन उपभोक्ताको २७ करोड ८० लाख र सरकारको ६ करोड ६५ लाख रुपैयाँ बराबर खर्च भएको जानकारी दिए।
‘पूर्ण सरसफाइ हाम्रो अभियान, स्वच्छ, सफा र सुन्दर काठमाडौंको पहिचान’ नारासहित २०६५ सालदेखि काठमाडौंमा सरसफाइका कार्यक्रम सुरू भएका थिए।
काठमाडौं जिल्लामा सबभन्दा पहिले २०७० वैशाख २७ गते साविक नैकाप गाउँ विकास समितिले ओगटेको क्षेत्र (अहिले चन्द्रागिरी नगरपालिका) लाई खुला दिसामुक्त गाविस घोषणा गरिएको थियो।
खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्ला स्तरीय समन्वय समितिको प्रतिवेदनअनुसार काठमाडौं जिल्लामा २ लाख ९२ हजार ४५२ घर छन् र ती सबै घरमा चर्पी छन् ।