एक साताअघि पासाङ ल्याह्मु राजमार्गमा पहिरोले सडक नै बगाइदियो। रसुवाको राम्चे नजिकै आएको पहिरोले झन्डै १५ मिटर सडक बगाइदिएपछि राजमार्ग अवरुद्ध छ। राजमार्ग अवरूद्ध हुँदा एकातिर नागरिकले आवतजावतमा सास्ती भोग्नु परेको छ भने अर्कातिर चीनसँगको प्रमुख नाका रसुवागढीबाट सामान आउन रोकिए।
केरूङबाट सामान ल्याएर आएका दर्जनौं ट्रक झन्डै एकसाता टिमुरेमा रोकिए।
मंगलबार साँझदेखि भने स्याप्रुवेंशी-मैलुङ सडकबाट सामान बोकेका ट्रक पठाउन थालिएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार १ दर्जन बढी डोजर र एक्साभेटरले मैलुङ-स्याप्रुवेंसी सडकका विभिन्न ठाउँमा खसेको पहिरो हटाएका थिए।
‘तत्कालका लागि काम चलाएका छौं। यता राम्चेनजिकैको पहिरो गएको ठाउँमा रिटेनिङ वाल लगाउनु पर्ने भएको छ। यो बाटो खुल्न अझै केही दिन लाग्छ होला,’ भण्डारीले भने।
टिमुरे भन्सार कार्यालयका प्रमुख पूण्यविक्रम खड्काका अनुसार केरूङबाट सामान ल्याएर आएका केही ट्रक मैलुङ हुँदै नुवाकोट पास भइसकेका छन्।
‘झन्डै एक सातादेखि ट्रकहरू यहीँ रोकिएका थिए। बाटो खुलेपछि जान थालेका छन् तर पानी परिरहेकाले त्यो बाटोको पनि भर छैन,’ खड्काले भने।
खड्काका अनुसार अहिले केरूङबाट लत्ताकपडा र जुत्ता चप्पल धेरै आयात भएको छ।
चाडबाडको नजिकै चिनियाँ सामान ढिलाइ भए राजधानीलगायतका ठाउँमा मूल्य बढ्न सक्छ।
रसुवा गढी नाकाबाट नेपाल धेरै भित्रिने भनेको चिनियाँ स्याउ हो। बाटो बन्द भएपछि स्याउ तातोपानी नाकाबाट आउन थालेको छ।
मैलुङ-स्पाप्रुवेशी सडक राजधानी काठमाडौंलाई चिनियाँ नाका रसुवागढी जोड्ने सबैभन्दा छोटो बाटो हो।
नेपाली सेनाले चैत ३० गते रसुवाको मैलुङ–स्याप्रुवेशी सडकको ट्रयाक खोलेको थियो। जेठदेखि बाटो सञ्चालनमा आएको थियो।
१७ किलोमिटर ट्रयाक खुलेसँगै काठमाडौंबाट रसुवागढी झन्डै २५ किलोमिटर छोटो भएको छ।
बर्खाबाहेक अन्य समयमा सबै किसिमका गाडी चलाउन मिल्नेगरी ट्रयाक तयार पारेर सेनाले बाटो सडक विभागलाई हस्तान्तरण गरेको थियो।
पासाङल्ह्यामु राजमार्गको बेत्रावती–धुन्चे –स्याप्रुवेशी खण्ड ५४ किलोमिटर छ। बेत्रावतीदेखि धुन्चेको उकालो र धुन्चेदेखि स्याप्रुवेशीसम्मको ओरालोमा ३५ घुम्ती छन्। राम्चे र मूलखर्कमा जाने पहिरोले यो बाटो बेलाबेला अवरोध हुने गर्छ।
नयाँ बनेको बेत्रावती–मैलुङ–स्यापू्रुवेशी सडक ३१ किलोमिटरको छ।
त्रिशुलीको किनारैकिनार जाने बेत्रावती– मैलुङ–स्याप्रुवेशी खण्डमा ठूला घुम्ती छैनन।
सडक स्याप्रुवेशी मैलुङसम्म त्रिशुलीको बायाँ किनारा हुँदै आउँछ। मैलुङमा १३० मिटर लामो बेलिब्रिज हालिएको छ।
मैलुङदेखि तल त्रिशुलीको दायाँ किनारामा सडक बनाइको छ।