पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा मंगलबार राति एक बोर्डिङ स्कुलमा आगलागी हुँदा कम्तीमा २७ बालबालिकाको ज्यान गएको छ।
राजधानी मान्रोभियादेखि पूर्वतिर पर्ने पेनेसभिला शहरको एक विद्यालय भवनमा बालबालिकाले कुरान पढिरहेका बेला आगलागी भएको थियो। विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने बताइए पनि विस्तृत विवरण आइसकेको छैन।
लाइबेरियाका प्रहरी प्रवक्ता मोसेस कार्टरका अनुसार मृत्यु हुने बालबालिकामध्ये धेरैजसो १० देखि २० वर्षका छन्। आगलागीमा पनि २ जना शिक्षकको पनि मृत्यु भएको छ।
राष्ट्रपति जर्ज ओयले ट्वीट गर्दै घटनाबारे जानकारी दिएका छन् र पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
प्रहरी अधिकारीहरुले आगलागीमा मर्ने बालबालिकाको संख्या अझै बढ्न सक्ने बताएका छन्। स्कुलमा आगलागी भएपछि सयौं अभिभावक विद्यालयमा जम्मा भएका छन्।