आज दसैंको टीका लगाएपछि फुर्सदिलो हुनुहुन्छ भने बुंगमती रमाइलो गन्तव्य हुनसक्छ।
सबैतिर दसैंको रौनक छाएका बेला काठमाडौं उपत्यकाको यो प्राचीन नगरमा नवमीदेखि बेग्लै सांस्कृतिक उत्सव सुरू भएको छ। पाटनको जावलाखेलबाट करिब छ किलोमिटर दक्षिण पर्ने बुंगमतीमा एकादशीसम्म चल्ने यो उत्सवको महत्वपूर्ण दिन विजया दशमीको रात हो।
काठमाडौं उपत्यकाका मान्छे पहिले–पहिले नवमी, दशमी र एकादशीमा मनकामना दर्शन गर्न गोरखा जाँदैन थिए। यी तीन दिन मनकामना देवी नै बुंगमती बास बस्न आउँछिन् भन्ने कथन थियो। नयाँ पुस्ताले लगभग बिर्सिसकेको यो कथन बुंगमतीको स्मरणमा भने ताजा छ।
बुंगमती र मनकामनासँग जोडिएका दुइटा किम्बदन्ती छन्।
मनकामना देवी आफ्ना श्रीमानसँग रातो मच्छिन्द्रनाथ वा अरू कुनै जात्रा हेर्न बुंगमती आएकी थिइन् रे। उनीहरू दुवै स्थानीय ज्यापू र ज्यापुनीको भेषमा थिए। जात्राको भीडमा कसैले उनीहरूलाई चिनेनन्।
बुंगमतीका एक तान्त्रिकको नजर उनीहरूमाथि पर्यो। खासमा मनकामना दम्पती देउताहरूले बोल्ने भाषामा कुराकानी गर्दै थिए। सिद्ध तान्त्रिकले दैविक भाषा सजिलै खुट्टयाइहाले। उनलाई लाग्यो, यी दम्पती साधारण मनुष्य होइनन्, कुनै देवदेवी हुन्।
तान्त्रिकले आफ्नो तन्त्रविद्याबाट मनकामना र उनका श्रीमानलाई वशमा लिए।
कब्जामा परेपछि मनकामनाले परिचय खोलिन्। त्यसपछि त झन् तान्त्रिकले छाड्नै मानेनन्। भने, ‘साक्षात् मनकामना देवी हाम्रो आँगनमा आएपछि अब कहाँ जान दिन्छौं। हामी यहीँ मन्दिर बनाएर तपाईंहरूलाई प्रतिस्थापन गर्छौं।’
मनकामनाले भनिछन्, ‘हे तान्त्रिक, म तिम्रो भक्तिबाट प्रसन्न छु। तर, गोरखाको मन्दिर छाडेर म सधैंका लागि यहाँ बस्न आउन मिल्दैन।’
तान्त्रिक मान्दै मानेनन्।
हार खाएर मनकामनाले भनिन्, ‘तिमी यस्तै कर गर्छौ भने म वर्षको तीन दिन यहाँ आएर बस्छु।’
त्यसउप्रान्त हरेक वर्ष नवमी, दशमी र एकादशीको दिन मनकामना देवी आफ्ना श्रीमानसँग बुंगमती आउँछिन् भन्ने स्थानीय विश्वास छ।
यो पहिलो किम्बदन्ती हो, दोस्रो किम्बदन्ती अलि फरक छ।
मनकामनालाई बुंगमतीमा ‘अजिमा’ भनिन्छ। अजिमा भनेको नेवार भाषामा ‘हजुरआमा’ हो। यिनी काठमाडौंको नेवार समुदायले प्राचीन कालदेखि आराध्य मान्दै आएकी देवी हुन्। मनकामनालाई पनि बुंगमतीका स्थानीय आफ्ना आराध्य ‘अजिमा’ मान्छन्।
यी अजिमा कुनै कारणले श्रीमानसँग रिसाएर घर छाडेर हिँडिछन्। हिँड्दा-हिँड्दै अहिले गोरखामा मनकामना मन्दिर भएको ठाउँ पुगेपछि थकाइले चूर भएर बास बसिछन्। त्यही बेला अजिमालाई खोज्न निस्केका बुंगमतीका ह्याङ्ग्रिभ भैरवले देखेर सम्झाइबुझाइ आफूसँगै लिएर आएछन्।
अजिमा बास बसेको ठाउँ भएकाले कुमभन्दा मुनिको भाग त्यहाँ प्रतिस्थापन गरेर मनकामना मन्दिर स्थापना गरिएको र कुमभन्दा माथिको भाग बुंगमतीमै फर्काइएको विश्वास गरिन्छ।
ह्याङ्ग्रिभ भैरवले बल्लतल्ल फर्काएर ल्याएको भए पनि अजिमा वर्षको तीन दिन मात्र बुंगमतीमा बस्छिन्। बाँकी समय गोरखाकै मन्दिर जान्छिन्।
दसैंको नवमीदेखि एकादशीसम्म बुंगमतीमा हुने उत्सव यिनै अजिमा वा मनकामना देवीको जात्रा हो, जो गोरखाबाट आफ्नो बाचाअनुसार तीन दिनलाई यहाँ आएकी छन्। ह्याङ्ग्रिभ भैरवले सम्झाइबुझाइ फर्काएकाले जात्रामा उनलाई पनि अजिमा सँगसँगै राखेर पूजा गरिन्छ।
जस्तो काठमाडौंको निम्ति येँया पुन्ही अर्थात् इन्द्रजात्रा, जस्तो पाटनको निम्ति रातो मच्छिन्द्रनाथ र भक्तपुरको निम्ति बिस्काः, बुंगमतीमा अजिमा वा मनकामनाको जात्रा त्यस्तै लोकप्रिय र महत्वपूर्ण छ।
बुंगमतीको मच्छिन्द्रबहालस्थित मनकामना मन्दिर वर्षभरिमा यही तीन दिन मात्र खुल्छ। अरू बेला दिनको दुईचोटि नित्य आरती र पूजाआजा भने गर्नुपर्छ। पुजारी परिवारबाट अभिषेक लिएका व्यक्तिबाहेक अरू मन्दिरभित्र छिर्न पाउँदैनन्।
स्थानीय अनिल तुलाधरका अनुसार यो जात्रालाई 'नन्दे–कुन्दे' जात्रा पनि भनिन्छ। यसमध्ये कुन्दे भनेको अजिमा, अर्थात् मनकामना हुन् भने नन्दे उनका श्रीमान्, अर्थात् आजु।
नवमीको रात जात्रा सुरू भएपछि सबभन्दा पहिला अजिमालाई मन्दिरबाट बाहिर निकालिन्छ। पूजा चढाउँदा पनि अजिमालाई नै पहिला चढाइन्छ।
पहिलो दिन बहालभित्र मात्र जात्रा चल्छ। यो दिन बहालको दक्षिण ढोकामा भीमसेन बाटो छेकेर बसेका हुन्छन् भन्ने अर्को किम्बदन्ती छ।
ह्यांग्रिभ भैरव र भीमसेन कुनै बेला मीत थिए रे। एकदिन भैरवले आफ्नो मितलाई पाहुना बोलाएछन्। यसलाई बुंगमतीमा ‘खिचाबु म्ये स्याइगु’ को दिन भनिन्छ। अनिलका अनुसार यो भनेको पाटनमा बुंगद्य:को रथ राख्नुभन्दा तीन दिनअगाडि हो।
त्यस दिन भैरवले मितलाई भोज खुवाउन राँगाको मासुको थोरै भाग छुट्टयाएर राखेछन्। आफू भने मन्दिर पछाडिको चोकमा सिंगै राँगो मारेर खान थालेछन्। यो थाहा पाएर भीमसेन रिसले चूर भए। दसैंमा मोहनी जात्रा बेला भीमसेन फेरि आएर भैरवलाई बाहिर जान दिन्न भन्दै मच्छिन्द्रबहालको दक्षिण ढोका रहेको ठाउँमा टाङ फैलाएर बसे। यो भनेको नवमीको दिन हो। उनी आउने–जानेलाई भन्थे रे, ‘म कसैलाई पनि यो बाटो हिँड्न दिन्न। हिँड्ने भए मेरो टाङ मुनिबाट जाओ।’
भीमसेनको यस्तो रवैयाले सबैलाई अप्ठ्यारो परेपछि भैरवले हनुमानसँग सहयोग मागेछन्। हनुमानले भीमसेनलाई बाँसको टुप्पोले अंकुश लगाएर हुत्याउँदै अहिले दोलखामा भीमसेनस्थान रहेको ठाउँसम्म पुर्याएदिए भन्ने कथन छ।
यो किम्बदन्तीले दोलखा र बुंगमतीबीच कुनै पुरानो सम्बन्ध संकेत गर्छ। बुंगमतीकै मान्छे व्यापार सिलसिलामा दोलखा बसाइँ सरेका हुन सक्छन्। भीमसेन, अर्थात् भीन्द्यःलाई काठमाडौंको नेवार समुदाय व्यापार वा समृद्धिको देउता मान्छन्। समृद्धिको देउतालाई नै लखेटेर पठाएकाले बुंगमतीमा व्यापार, व्यवसाय फाप्दैन भन्ने कथन पनि छ।
रातो मच्छिन्द्रनाथको जात्रा बुंगमतीजस्तै दोलखामा पनि हुन्छ। यहाँजस्तै बुंगद्य:लाई रथमा राखेर यात्रा गराइन्छ। यसले पनि बुंगमती र दोलखाबीच सम्बन्ध जोड्छ।
तीनदिने उत्सव बेला बुंगमतीमा ह्यांग्रिभ भैरव, भीमसेन र हनुमानको यो किम्बदन्तीअनुसारकै जात्रा पनि चल्छ।
‘नवमी र दशमीको दिन भीमसेनले दक्षिण ढोकामा टाङ फैलाएर बाटो अवरूद्ध पार्ने हुँदा मनकामनाको जात्रा मच्छिन्द्रबहालबाट बाहिर जाँदैन,’ तुलाधरले भने, ‘मुख्य उत्सव दशमीको रातबाट सुरू हुन्छ। हनुमानले बाँसको अंकुश लगाएर दक्षिण ढोकामा बाटो छेकेर बसेको भीमसेनलाई दोलखा हुत्याएपछि बल्ल मच्छिन्द्रबहालबाहिर मनकामनाको जात्रा चल्छ। यो एकादशीको दिनभरि हुन्छ।’
उनका अनुसार दशमीको रात इन्द्रायणी बाजा बजाएर हनुमान ढाकिन्छ। बाजाको धून सुनेर कुनै स्थानीय व्यक्तिमा हनुमानको आत्मा चढ्छ। आत्मा चढेको व्यक्ति हनुमानझैं वेगमा कुदेर बहालमा आइपुग्छन्।
यस दिन भीमसेनलाई दोलखा हुत्याउन बहालका केही ठाउँमा बाँसको लिंगो गाडेर राखिएको हुन्छ। हनुमानको आत्मा चढेका व्यक्ति त्यो बाँसमाथि चढ्छन्। त्यसपछि भीमसेन दोलखातिर हुत्तिन्छन् भन्ने विश्वास छ।
‘पहिले दुई–तीन जना व्यक्तिमा एकैचोटि हनुमानको आत्मा आउँथ्यो। उनीहरूबीच आपसमा प्रतिस्पर्धा हुन्थ्यो,’ तुलाधरले भने, ‘जसले जित्यो उसैले भीमसेनलाई हुत्याउने अवसर पाउँथ्यो।’
एकादशीको रात मनकामना अजिमा र आजुलाई मन्दिरभित्र प्रवेश गराएपछि जात्रा सकिन्छ। पहिले बुंगमतीमा जात्रा हुने तीन दिनसम्म मनकामना मन्दिर बन्द हुन्थ्यो भन्ने भनाइ यहाँ प्रचलित छ। हामीले यसबारे गोरखास्थित मनकामना मन्दिरका पुजारी इन्सान थापासँग कुरा गर्दा उनले यो पुष्टि गरेनन्। बुंगमतीमा मनकामनाको जात्रा हुन्छ भन्ने नै आफूले पहिलोपटक सुनेको उनले बताए।
‘हामी हरेकदिन यहाँ नित्यपूजा गर्छौं,' उनले भने, 'वर्षको कुनै पनि दिन पूजा बन्द हुँदैन।’
बुंगमतीका स्थानीय भने पुरानो चलन समयक्रममा लोप भएको हुनसक्ने बताउँछन्। उनीहरूका अनुसार पहिले काठमाडौंकै कुनै बज्राचार्य खलकबाट गोरखाको मनकामना मन्दिरमा पूजा गर्न जाने चलन थियो। लामो बाटो आउजाउ गर्नुपर्ने हुँदा यो चलन मासिएको उनीहरूको भनाइ छ।
बुंगमतीले भने भेष बदलेर जात्रा हेर्न आएकी वा श्रीमानसँग रिसाएर हिँडेकी मनकामना वा अजिमालाई बिर्सेका छैनन्। हरेक वर्ष उनको सम्झनामा धूमधामसँग जात्रा गर्छन्।
जात्राको मुख्य उत्सव विजया दशमीको मध्यरात हुने भएकाले धेरैलाई यसबारे जानकारी छैन। यसपालि दसैंको टीका लगाएपछि फुर्सदमा भएका सबैलाई जात्रा हेर्न बुंगमतीको ‘चुल्हे निम्ता’ छ।
यो जात्रा कहिलेबाट सुरू भयो भन्नेमा फरक–फरक धारणा पाइन्छ। कोही मच्छिन्द्रनाथ अर्थात् बुंगद्यः आएकै बेलाबाट जात्रा सुरू भएको मान्छन्, तुलाधरले भने, ‘केही स्थानीय गुर्जुहरू भने वंशावली उद्धृत गर्दै नेपाल सम्बत् ३७९ बाट जात्रा चलेको बताउँछन्।’
‘यस वर्ष दशमीको रात बुंगमतीको बास,’ उनले भने, ‘दशमीमा आउन भ्याउनुहुन्न भने एकादशीको दिन आउनुभए पनि हुन्छ।’
जाने हो त बुंगमतीको निम्ता मान्न?