एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कान खातुनलाई बलिउड अभिनेता शाहरूख खानले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा 'एसआरके सरोज' नामका व्यक्तिले मुस्कानका बारेमा लेखेको ट्विटमा जवाफ लेख्दै शाहरूखले मुस्कानलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।
केही दिनअघि अभिनेता अमिताभ बच्चनले पनि मुस्कानलाई ट्विटरमा भिडिओ सन्देशमार्फत् शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। भिडिओ सन्देशमा अमिताभले यस्तो घटना हुनु दुर्भाग्यपूर्ण भएको पनि बताएका थिए।
‘मुस्कान, तिमीमाथि जे भयो त्यो कुनै पनि बच्चालाई हुनु हुँदैन,’ अमिताभले भनेका छन्,‘तिम्रो देशको कानुनले अभियुक्तहरूलाई पक्राउ गरी सजाय दिनेछ।’
मुस्कानका लागि बलिउड अभिनेता वरूण धवन र अभिनेत्री क्रिती सनोनले पनि भिडिओ सन्देश पठाएका थिए। गायक राजु लामा उनलाई भेट्न अस्पतालमै पुगेका थिए।
भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो। मुस्कानलाई एसिड हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो।