सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराटोलका २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मुखियाको हत्याको आरोपमा पक्राउ परेका स्थानीयवासी श्रीलाल सरदार र उनका १९ वर्षीय छोरा विजय सरदारलार्ई सार्वजनिक गरेको हो।
बेपत्ता भएका अजयकुमार मुखियालाई शङ्कास्पद स्थानमा खोजतलास गर्ने क्रममा कञ्चनरुप नगरपालिका–५ स्थित उत्तरतर्फ त्रियुगा नदी किनारमा ५ फिट मुनि खाल्डो खनी माटोमा गाडिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए।
घटनामा संलग्न रहेको निवेदनका आधारमा सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिप्रा बस्ने श्रीलाल सरदारलाई उदयपुर जिल्लाको कटारीबाट पक्राउ गरिएको थियो। श्रीलाल सरदारका अनुसार कात्तिक ५ गते पुनः त्रियुगा नदीको आसपासका ठाउँमा खोजतलास गरेको तर फेला नपरेको र त्यसपछि भोलिपल्ट सरदारको छोरा विजय सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनको छोरा विजयले गाडिएको स्थान बयान गरे बमोजिम उक्त स्थानमा खोजतलास गर्दा अजयकुमार मुखियाको मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्रियुगा नदीको किनारमा झिङ्गा लागि रहेको ठाउँमा शङ्का लागेर खाल्टो खनेर हेर्दा अजयकुमार मुखिया र रमेश सरदारको ज्याकेटलगायत रौं र रगत फेला परेको थियो। उक्त बरामद गरिएको समानलाई परीक्षणको लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको प्रहरी उपरीक्षक प्रसाइले बताए।
घटनामा संलग्न श्रीलाल सरदार र उनको छोरालाई नियन्त्रमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।
मृतक अजयकुमार मुखियासहित सातजना गाउँका व्यक्ति जङ्गलको बँदेल मार्ने योजना बनाइ शिकार गर्न गएका थिए। सो क्रममा बँदेललाई धान खेतमा करेन्ट लगाएर मार्ने क्रममा अजयको बिजुलीको पासोमा करेन्ट लागि मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
उनीसँगै गएका बाँकी सबै जना मिलेर मृतकलाई बेपता पारी गाडिएको अशङ्काको आधारमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो घटनमा फरार अन्य व्यक्तिको पनि खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए।