तुलसीपुरमा हायसले अटोलाई ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ भने थप पाँच जना घाइते भएका छन्।
दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तरकुरहरिया निवासी २७ बर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको हो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याए लगतै बुधवार बेलुका साढे ७ बजेतिर चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
उक्त दुर्घटनामा परि चौधरीका पति तथा अटो चालक २७ बर्षीय ज्ञानबहादुर चौधरी, उनकी १७ महिनाकी छोरी अदिती चौधरी र तुलसीपुर १६ लहलौरा निवासी ६० बर्षीय ईश्वरीबहादुर बस्नेत गम्भीर घाइते भएका छन्। घाइते तीनै जनालाई तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर पछि छिमेकी देश भारतको लखनउ बुधवार राति नै रेफर गरिएको छ ।
सोही दुर्घटनामा परि अटो तुलसीपुर १६ उत्तरकुरहरिया निवासी अन्दाजी २४ बर्षीय प्रविण चौधरी र घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी अन्दाजी २३ बर्षीय विजय चौधरी घाइते भएका छन्। उनको तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलपुरका प्रमुख तथा डिएसपी हरिहरनाथ योगीले जानकारी दिए।
तुलसीपुर बजारबाट दक्षिण तर्फ जाँदै गरेको रा १ ह ३५४९ नम्वरको अटोलाई नेपालगञ्जवाट तुलसीपुर बजार तर्फ आउँदै गरेको बा २ ख ३९५९ नम्वरको हायसले तुलसीपुरको स्टारचोकमा बुधवार बेलुका सवा ७ बजेतिर ठक्कर दिदा उक्त दुर्घटना भएको हो। अटोले स्कूटरलाई ओभरट्याक गर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।