डडेल्धुरामा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालले सुविधा सम्पन्न ठाउँमा लैजान भनेको छ।
आइतबार विज्ञप्ति जारी गर्दै डडेल्धुरा अस्पतालले केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको जनाएको छ।
केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएकाले चिकित्सकीय हैसियतले क्षमताभन्दा बाहिर गएका बखत अस्पतालले कुनैपनि जटिलता व्यवस्थापन गर्न नसक्ने अस्पतालको भनाइ छ।
केसीको थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण नभएको अस्पतालले जनाएको छ।
‘यस अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति र उपकरण उपलब्ध नभएकाले उहाँको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गर्दै यहाँबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ,’ अस्पतालको विज्ञप्तिमा भनिएको छ।
कात्तिक १८ देखि डाक्टर केसी डडेल्धुरामा १७ औं अनसनमा बसेका छन्। पहिला निजी घरमा अनसन बसेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल ल्याइएको थियो।