अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय मोटरसाइकल प्रदेश नम्बर-३ गुर्जुधारामा छापा मारेको छ।
आर्थिक अनियमितता भएको सुराकीका आधारमा अख्तियारले छापा मारेको हो।
अख्तियारले छापा मारी एक कर्मचारीसहित अन्य ४ जनालाई नियन्त्रणमा लिएको स्रोतले बतायो।
मोटरसाइकल पास गर्ने क्रममा कार्यालयका एक कर्मचारीले सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले छापा मारेको हो। अख्तियारको टोलीले कार्यालयका एक नासुलाई नियन्त्रणमा लिएको बताइए पनि कर्मचारीको परिचय खुलाइएको छैन।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनुसन्धानको क्रममै रहेकोले थप बोल्न नमिल्ने बताए।
‘अनुसन्धानको क्रममा रहेको विषयमा केही बोल्न मिल्दैन,’ प्रवक्ता कोइरालाले भने।
पक्राउ पर्नेमा ५ नम्बर फाँटमा कार्यरत शाखा अधिकृत शुक्रराज भट्टराई रहेको स्रोत बताउँछ।