तीन महिनासम्म चल्ने मुक्त टुँडिखेल अभियानअन्तर्गत शनिबार जनता र जनप्रतिनिधिबाट अवलोकन गरी टुँडिखेलको अवस्थाबारे सर्वेक्षण गर्ने कार्यक्रम छ। सहिदगेटबाट उत्तर पूर्वतर्फको ऐतिहासिक गुरुमापाको रूखमा ८ बजे भेला भई अनुगमन साथै नजिकै खरीको बोट पनि रोपिने भएको छ।
यो स्थानमा पहिले खरीको बोट थियो जुन राणाशासन अन्त्य र प्रजातन्त्र घोषणा लगायत ऐतिहासिक घटनाको साक्षी थियो। यो रूख पछि काटिएकाले पुनः रोप्न लागिएको हो।
यही कात्तिक ३० गते शहनशीलता दिवस पनि हो। खरी रूखको प्रतिस्थापन जनताको सहनशीलता कमजोरीका रुपमा नलिनु साथै अन्याय र अत्याचारविरूद्ध सबै जनप्रतिनिधि र जनता एकजुट हुन सन्देश पनि भएको संरक्षण अभियन्ताको भनाइ छ।
अघिल्लो शनिबार मुक्त टुँडिखेल अभियानअन्तर्गत मानवसाङ्लो बनाई टुँडिखेल घेरिएको थियो। मानव साङ्लोनिम्ति स्थानीय सांस्कृतिक खलः, स्पोर्टस् क्लब, स्थानिय, कलाकार लगायत सहभागी थिए। अभियानअनुसार ३ महिनासम्म प्रत्यक शनिबार टुँडिखेलमा विभिन्न कार्यक्रम आयोजना हुँदैछ।
जसमा कुनै शनिबार टुँडिखेलसँग सम्बन्धित पुराना तस्बिर प्रदर्शन गरिनेछन् भने कुनै शनिबार चित्रकारलाई निम्ता गरेर आफूले परिकल्पना गरेको खुला टुँडिखेलको पेन्टिङ प्रदर्शन गर्न आह्वान गरिनेछ।
त्यस्तै, कुनै शनिबार कविहरूलाई टुँडिखेल र काठमाडौं सभ्यतामाथि केन्द्रित रहेर कवितावाचन गर्न लगाइनेछ। कहिले नाट्य समूह डाकेर सार्वजनिक जग्गा अतिक्रमणविरूद्ध सडक नाटक प्रदर्शन गर्न आग्रह गरिनेछ।
सांस्कृतिक, प्राकृतिक, राजनैतिक, ऐतिहासिक, सामाजिक महत्व भएको टुँडिखेल अनधिकृत पसल संचालन, बसपार्क, पार्किङ लगायत बनाउँदै अतिक्रमण हुने क्रम बढिरहेकाले याे क्रम रोक्न मुक्त टुँडिखेल अभियान भएकाे हाे।
मध्यसहरको खुलास्थल टँडिखेललाई हराभरा पार्क बनाउन सरकारलाई दबाब दिने र सर्वसाधारणलाई सहरी क्षेत्रमा पार्कको महत्व बुझाउने उद्देश्यले संरक्षणकर्मी अभियन्ताहरूले यी कार्यक्रमहरू गर्न लागेका हुन्।