मिर्गौला पीडितले आफूहरूलाई उपलब्ध गराउँदै आएको सम्पूर्ण सहयोग पूर्ववत ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन्।
मिर्गौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पीडितहरूले जीविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गरेका हुन्।
१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडितहरू प्रधानमन्त्रीसँग भेट्न नपाएपछि रुष्ट बनेका थिए।
प्रधानमन्त्री स्वयम् मिर्गौला पीडित भएर पनि आफूहरूको समस्या नबुझेको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी नै दिए ।
प्रधानमन्त्रीले भेट्ने समय नदिएको भन्दै मिर्गौला पीडितहरूले आन्दोलनको घोषणा गरेका हुन्। आफूले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडितका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनीहरूले प्रधानमन्त्रीप्रति आक्रोश पोखे।
पीडितहरूले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनु पर्ने, नि:शुल्क हेमोडाइलाइसिस, बिरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डायलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन्।
उनीहरूले माग सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए।
प्रधानमन्त्रीसँग भेट गर्न नपाएपछि पीडितहरू बालुवाटारबाट नाराबाजी गर्दै माइतीघर मण्डलसम्म आएका थिए। उनीहरूले मण्डलमा पनि केही समय प्रदर्शन गरेका थिए।