अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्रका पूर्व उपसम्पादक बासुदेव पोखरेललाई नक्कली प्रमाणपत्र बनाएर सरकारी सेवाको लाभ लिएको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ।
पोखरेलले नक्कली प्रमाणपत्र बनाएर भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले विज्ञप्ति जारी गरेका छन्।
'गोरखापत्र संस्थानका उप-सम्पादक बासुदेव पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको मार्कसिट र चारित्रिक प्रमाणपत्र पेश गरी गोरखापत्र संस्थानमा सेवा प्रवेश तथा स्तर वृद्धि समेत भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसूर गरेको पुष्टि भएकाले,' विज्ञप्तिमा भनिएको छ, 'निज बासुदेव पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिइएको छ।'
अख्तियारको अभियोग प्रमाणित भए उक्त कानुनअनुसार उनलाई छ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजारसम्म जरिवाना हुनसक्छ।
उनको नक्कली प्रमाणपत्रलाई प्रमाणीकरण गरिदिने त्रिभुवन विश्वविद्यालयका तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख वैकुण्ड प्रसाद थपलियालाई पनि अख्तियारले मुद्दा चलाएको छ।