जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु भएपछि त्यसक्षेत्रमा त्रास उत्पन्न भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले स्थानीयको ज्यान लिन थालेपछि स्थानीय त्रसित हुन थालेका हुन्।
प्रहरीका अनुसार हात्तीले बाटो छेकेरै आक्रमण गर्न थालेको छ। यसरी शनिबार बिहान माडी नगरपालिका-१ का ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेललाई हात्तीले आक्रमण गरेर मारेको थियो।
लु३१प २९११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शनिबार बिहान जंगली हात्तीले आक्रमण गरेको थियो। उनीहरू माडीबाट बाँदरझुलातर्फ गइरहेका थिए।
माडी नगरपालिका-९ को पुरानो अम्बुबा पोष्टनजिकै हात्ती आक्रमण गरेको थियो। उनीहरू दुबैको घटनास्थलमै मृत्यु भएको थियो। चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार एक महिनाअघि पनि एक जनाको हात्ती आक्रमणबाट ज्यान गएको थियो।
उक्त घटनाअघि हात्तीले शनिबार बिहान नै एक रात्रिबस र बलेरोलाई पनि सोही स्थानमा आक्रमण गर्न खोजेको थियो। बसलाई हात्तीले बाटो छेकेको थियो। हात्ती धपाउन चालकले लामो समयसम्म हर्न बजाएका थिए।
आहारको खोजीमा जंगलबाट बस्तीमा निस्किने क्रममा हात्तीले यस्तो घटना गराउने गरेको छ।