हनुमाननगर-भारदह दुरी करिब ६ किलोमिटर। यहीबीचमा छ विशाल फाँट, लोककलायुक्त माटाका घर।
भारदह हिँडेका हामी जोगिनियाको त्यस्तै घरमा पुग्यौं, जहाँ भित्ताको एकपत्र माटोले बुट्टा कुँदिएका थिए। कमलको फूल, चरा- यस्तायस्तै आकृति।
घरको बाहिरी मोहडा नियाल्दै गर्दा शान्तिदेवी सदाले हामीलाई आँगनमै आउन आग्रह गरिन्। उनले भनेजस्तै आँगनमै गएर हेर्दा त्यहाँ झन् धेरै रंगीबिरंगी कला कुँदिएका रहेछन्।
'बाहिरको मैले बनाएको, आँगनभित्रको सबै छोरीले,' शान्तिदेवीले भनिन्।
आफ्नै हिसाबले भित्ताभरि बुट्टा भरे पनि यो घर शान्तिदेवीको होइन। कोशी कटान गरेर बनेको ऐलानी जग्गामा उनीहरूले घर बनाएका हुन्। ऐलानी जग्गाबाट कति बेला निस्किएर हिँड्नुपर्छ, पत्तो हुन्न।
जिन्दगीभर पिरोल्ने जग्गाको समस्या त छँदैछ, अचेल शान्तिदेवीलाई त्योभन्दा अर्कै कुराले सताउन थालेको छ – छोरीको बिहे!
उनका दुई छोरी छन्, १३ वर्षकी राधा र १० वर्षकी रविना। रविनाले पढेकी छैनन्। राधाले पनि ३ कक्षा पढ्दै गर्दा गरिबीका कारण छाड्नु परेछ।कानुनी हिसाबमा उनीहरूको बिहे गर्ने उमेर भइसकेको छैन। तर राधा १२ कटिसकेपछि छरछिमेकले बेलाबेला बिहेको दबाब दिन थालेका छन्।
'छोरी भागिहाल्छे, बिहे गर्दिनू भनेर छरछिमेक भनिरहन्छन्। म कुनै हालतमा गरिदिने पक्षमा छैन। कानुनले पनि सानैमा बिहे नगर्न भनेको छ,' शान्तिदेवी दरिली सुनिन्छिन्।
उनको आफ्नै बिहे ७ वर्षमै भएको रहेछ। सानैमा बिहे गर्नुको झमेला उनले बुझेकी छन्। चाहेर पनि छोरालाई भने यो परम्पराबाट अलग राख्न सकिनन्। अघिल्लो वर्ष मात्रै उनले १५ वर्षे छोराको निम्ति १३ वर्षे बुहारी भित्र्याइन्। अहिले उनको नातिनी पनि भइसक्यो।
छोरा भारतको जमुनानगरमा 'प्लाइवुड' को काम गर्छन्। बुहारी शान्तिदेवीलाई घरायसी काममै सघाउँछिन्। छोराझैं शान्तिका श्रीमान पनि भारतको कर्नाटकमा मजदुरी गरिरहेका छन्। महिनाको ५ हजारजति पठाउँदा रहेछन्, 'जसको पनि कुन दिन टुंगो नहुने हो' भन्ने दुविधा छ।
'भारतको मखिपुरकी केटी बिहे गरेको छ। उसलाई सबै पैसा दिन्छ, हामीलाई अलिअलि मात्रै हो,' उनले भनिन्।
शान्तिदेवीलाई भने अर्को बिहेले आकर्षित गरेको छैन। भन्छिन्, 'छोराछोरीको मायाले बाँधिरहेको छ। उनीहरूकै बिहे गरिदिने उमेरमा आफ्नो कहाँ गर्नु!'
उसो त शान्तिदेवीको उमेर नै कति भयो र! हजुरआमा बनिसकेकी उनको उमेर जम्मा २७ त हो।
यो उनको मात्र कुरा होइन, जोगिनियाका करिब २५ मुसहर घरपरिवारको साझा समस्या हो। एक तथ्यांकअनुसार मुसहरहरू ४५ जिल्लामा फैलिएका छन्, जसको जनसंख्या करिब साढे २ लाख छ।
मैथिली भाषामा 'मुस' को अर्थ मुसा र 'हर' को अर्थ हली हो। मुसा खाने समुदाय भनेर चिनिए पनि यही कारणले मुसहर भनिएको होइन। माटोको सीप भएकाले मुसहर भनिएको उनीहरू बताउँछन्।
माटो सिँगार्ने र श्रम गरेर अन्न फलाउने समुदाय भए पनि अधिकांशको आफ्नै जग्गा-जमिन छैन। अर्काको खेत कमाउँछन्। तै पनि उनीहरू 'माटो दिवस' मनाउँछन् र माटोको टीका लगाउँछन्।
शान्तिदेवीको परिवारको अर्को आयश्रोत पनि माटो नै हो– अर्काको खेतबारी सम्याउनु, धान–गहुँ रोप्नु, काट्नु। यसो गरेबापत उनले केही भाग अन्न पाउँछिन्। कतिपय मुसहरहरू झरेको धान टिपेर पनि आफ्नो जीविका चलाउँदा रहेछन्। शान्तिदेवीको परिवारले भने यस्तो गर्नुपरेको छैन।
शान्तिदेवी लगायत मुसहरले सरकारबाट दैनिक ५० रुपैयाँका दरले भत्ता पाउन थालेका छन्। जन्मदर्ता वा नागरिकता हुनेले खाता खोल्नुपर्छ। नहुनेले सरकारी भत्ता पाउँदैनन्। शान्तिदेवीले पनि तीन वर्षअघि मात्रै श्रीमानको नामबाट नागरिकता लिएकी हुन्।
जन्मदर्ता वा नागरिकता नै नहुनु मुसहर समुदायको अर्को समस्या हो। त्यही भएर ०२१ सालको भूमिसुधार ऐनबाट उनीहरूले कुनै सुविधा लिन पाएनन्। ऐनले सबभन्दा बढी फाइदा तराईका सामन्तीलाई भयो। मुसहरहरू बसेको राम्रो जग्गा पनि उनीहरूले आफ्नो नाममा पारेर बस्ती उठाए। अहिले पनि करिब ८० प्रतिशत मुसहरसँग आफ्नो भूमि छैन।
पहिले मुसहरहरूलाई खोला र जंगलछेउ बस्न दिइन्थ्यो। जमिन्दारहरूले आफ्नै सुरक्षाका लागि यस्तो व्यवस्था गरेका थिए। जंगली जनावरले आक्रमण गर्दा पहिले मुसहरलाई आक्रमण गरोस् र उनीहरू बाँच्न सकून् भनेर।
तराईमा जंगल फाँडेर बस्ती बसाउने र खेत बनाउनेमध्ये मुसहर समुदाय एक हुन् भनिन्छ। कालान्तरमा जग्गाको भाउ बढेपछि सामन्तीहरूले हडपेको भनाइ छ। अहिले उनै मुसहरहरू धेरैजसो भूमिविहीन छन्।
जोगिनियाका धेरै मुसहर शान्तिदेवीजस्तै खोला कटान भएर बचेको जग्गामा बसोबास गर्छन्। त्यसमाथि जमिन्दारको ऋणमा पनि परेका छन्।
दुई वर्षअघि ससुराको काजकिरिया र घरायसी खर्चका लागि शान्तिदेवीले ४० हजार ऋण लिएकी थिइन्। यसले उनलाई सधैं पिरोल्छ। त्यो ४० हजार कसरी दुईगुना भएर ८० हजार पुग्यो, उनलाई थाहै छैन रे।
भन्छिन्, 'दिने बेला औंठा छाप हानेर कागज गरेको। नागरिकता र अरू कागजात दिएर मासिक पाँच रूपैयाँ (वार्षिक ६० प्रतिशत) ब्याजदरमा ४० हजार लिएको। अहिले त ८० हजार पुगिसकेछ।'
उनी बेलाबेला उक्त व्यक्तिसँग हिसाबकिताब गलत गरेको भन्दै विरोध गर्छिन्। तर दिनहुँको धम्कीले आजित भइसकेको बताउँछिन्।
'घर भत्काइदिन्छु भन्दै धम्की दिन्छ, पञ्चायत बसाउँछु भन्छ,' उनले भनिन्, 'घरमा वस्तुभाउ पनि केही छैनन्, नत्र त्यो दिएर पनि ऋण तिर्थेँ।'
सबै तस्बिरः समीक्षा अधिकारी/सबिना श्रेष्ठ