भारतमा एक बाघ पाँच महिनामा १३ सय किलोमिटर हिँडेको छ। पश्चिमी राज्य महाराष्ट्रमा रहेको साढे २ वर्षको उक्त बाघ गत जुनदेखि पार्टनर, आहार र बासस्थान खोज्दै हिँडेको थियो।
अनुसन्धानकर्ताले बाघको हिँडडुल ट्रयाक गर्न रेडियो कलर जडान गरेका थिए। बाघ खेत, नदी र राजमार्ग हुँदै छिमेकी राज्यहरू पुगेको र फर्केको देखिएको छ।
महराष्ट्रको तिपेश्वर वन्यजन्तु आरक्षमा जन्मिएको यो बाघको नाम सी १ हो। त्यहाँ १० बाघ छन्। गत फेब्रुअरीमा अनुसन्धानकर्ताले सी १ को शरिरमा रेडियो कलर जडान गरेका थिए। त्यसपछि उक्त बाघ आफ्नो एरिया (स्थायी वासस्थान) को खोजीमा हिँडेको थियो।
रेडियो कलर जडान गरिएकामध्ये भारतमा सबैभन्दा बढी हिँडेको बाघ यही हो।
यो यात्राका क्रममा बाघ अहिलेसम्म एक पटकमात्र मान्छेसँग आमनेसामने भएको छ। घना जंगलमा बाघ आराम गरिरहेका बेला आएका मान्छेलाई आक्रमण गर्दा एक जना घाइते भएका थिए।
जुनयता उक्त बाघ महाराष्ट्रका सात जिल्ला र तेलंगाना पुगेको थियो। गत आइतबार उक्त बाघ महाराष्ट्रकै अर्को वन्यजन्तु आरक्षमा भेटिएको थियो।
वन्यजन्तु अधिकारीहरूले बाघ कहिल्यै पनि सिधा बाटोमा हिँडेको नदेखिएको बताए। जिपिएस स्याटेलाइटले उक्त बाघबारे हरेक घन्टामा जानकारी आउँथ्यो र पाँच हजार ठाउँमा पुगेको देखिएको थियो।
‘बाघ सम्भवत: आफ्नो एरिया, आहार र पार्टनरको खोजीमा थियो। भारतको धेरै भागमा पहिल्यै नै बाघले आफ्नो एरिया बनाइसकेका छन्। नयाँ बाघले आफ्नो नयाँ एरिया खोज्नुपर्छ,’ डाक्टर बिलाल हबिबले बिबिसीसँग भनेका छन्।
बाघ दिनको समयमा सुतेर बस्थ्यो भने राति हिँड्थ्यो। उसले बँदेल र बनमा चर्न आएका गाइबाख्रा खान्थ्यो।
डाक्टर हबिबले एक जना मान्छेलाई घाइते पारेको बाहेक उसको मानिससँग अरू कुनै द्वन्द्व नभएको बताए।
‘स्थानीयहरूले यो बाघ आफ्नो क्षेत्रमा हिँडिरहेको छ भने पत्तो पनि पाएनन्,’ उननले भने।
बन्यजन्तु अधिकारीहरूले अब पनि मान्छेसँग बाघको द्वन्द्व नहोस् भन्नका लागि उसलाई समाएर नयाँ ठाउँमा राख्नुपर्ने हुन सक्ने बताएका छन्। रेडियो कलरको ब्याट्री सकिन लागेकाले उसको बारेमा जानकारी लिन सकिन्न कि भन्ने उनीहरूको चिन्ता छ।
विज्ञहरूका अनुसार भारतमा बाघको संख्या बढे पनि उनीहरूको बासस्थान बढेको छैन। अहिले संसारमा भएका बाघहरूमध्ये ७० प्रतिशत बाघ भारतमै भएको अनुमान गरिन्छ।
बाघ प्राय: आफ्नै एरिया बनाएर बस्ने गर्छन्। एउटा बाघलाई खानको लागि उसको एरियामा ५०० जति स्तनधारी जनावर चाहिन्छ।