विद्यार्थीबाट पैसा लिएर उत्तरपुस्तिका नै फेरबदल गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृतसहित चार जना विरूद्ध मुद्दा दायर गरेको छ।
परीक्षार्थीसँग पैसा लिएर उत्तरपुस्तिकाको नम्बर फेरबदल, साटासाट गरेको आरोपमा लेखा अधिकृत कमलप्रसाद दाहालसहित चार जनाविरूद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरिएको हो।
उनीहरूले उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारेर लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखेर भित्री पाना घर लगेर विज्ञहरुलाई लेख्न लगाई फेरि सोही बास्तविक कभरपेजमा स्टिच लगाउने गरेको उजुरी परेको थियो।
लेखा अधिकृत दाहालले त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी जानुका आलेमगर र हिरा कटुवालका परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिका तेजनारायण चौधरीमार्फत लिई साटफेर गरेको आरोप छ।
‘आफ्नो ओहोदा र पदको दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको स प्रमाण पुष्टि हुन आएको हुँदा निज कमलप्रसाद दाहाललाई सोही ऐनको दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले निकालेको विज्ञप्तिमा उल्लेख छ।