अमेरिकाको मायामी बिचस्थित आर्ट बासेलमा बिक्रीका लागि राखिएको एक लाख २० हजार डलर अर्थात् करिब एक करोड चालीस लाख रूपैयाँ पर्ने एउटा केरा एक जना कलाकारले खाइदिएका छन्।
भित्तामा सामान्य टेपले टाँसेर अड्याइएको उक्त केरा इटालियन कलाकार माउरिजियो क्याटलानको कला हो। यसको मूल्य एक लाख २० हजार अमेरिकी डलर तोकिएको थियो।
प्रदर्शनीमा राखिएको उक्त केरा शनिबार डेभिड दतुना नामक कलाकारले भित्ताबाट निकालेर खाइदिएका हुन्। बिक्रीका लागि राखिएको उक्त केरा तीन जनाले किन्न बोल लगाइसकिएको बताइएको छ। उक्त केराका तीन संस्करण थिए जसमा दुइटा बिकिसकेको जनाइएको छ। अन्तिम संस्करणको यो केराको बोलकबोल १ लाख ५० हजार डलरसम्म पुगेको सिएनएनले लेखेको थियो।
तर शनिबार दतुनाले केरा खाइदिए र आफ्नो इन्स्टाग्राम मार्फत जानकारी गराए।
'माउरिजियो क्याटलानको कला मलाई मनपर्यो। केरा धेरै नै मिठो छ,' उनले इन्स्टाग्राममा लेखेका छन्।
उनको यो हर्कत देखेर ग्यालरीका कर्मचारीहरू रिसाएका थिए। पछि त्यसको सट्टामा अर्को केरा राखिएको बताइएको छ।
ग्यालरीका निर्देशकले भने केरा खाएर कला नष्ट नभएको बताएका छन्।
'दतुनाले कलाकारको काम नष्ट गरेका छैनन्। केरा त विचारको संकेत मात्रै हो,' निर्देशक लुसियन तेरासले भने।
पछि भने केराको सुरक्षाका लागि प्रहरी खटाइएको पनि बताइएको छ।
माउरिजियो क्याटलान आफ्ना मूर्तिहरूका लागि चर्चित छन्। उनले बनाएको १८-क्यारेट सुनको चर्पी ६० लाख डलरमा बिकेको थियो।
भित्तामा टाँसिएको यो केरा कलालाई 'कमेडियन' नाम दिइएको छ। यो मायामीकै पसलमा किनिएको सामान्य केरा हो जसलाई एक टुक्रा टेपले टाँसिएको छ।
ग्यालरीका संस्थापक इमानुएल पेरोटिनले यसबारे भनेका छन्, 'केरा वैश्विक बजारको संकेत हो। द्विअर्थी र हाँस्यको संकेत पनि। त्यसैले यसले दुवै कुरा प्रतिनिधित्व गर्छ।'
एक सामान्य केराको यति धेरै मूल्य किन्न चाहनेहरूका लागि कुनै सुविधा भने छैन। केरा कुहिन थालेपछि के गर्ने भन्नेबारे ग्यालरी वा बिक्रेताले केही सुझाव दिएका छैनन्।
पेरोटिन ग्यालरीका अनुसार क्याटलानलाई यो आइडिया गत वर्ष नै फुरेको थियो।
'पहिले क्याटलनले केरा स्वरूपको कुनै ढलोट वा मूर्तिकला बनाउने सोचेका थिए,' पेरोटिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उनी जहाँ जाँदा पनि केरा किनेर ल्याउँथे र आफ्नो होटलको भित्तामा झुन्डाउँथे। यसलाई उनलाई प्रेरणा दिन्थ्यो। उनले धेरै नमूनाहरू बनाए। कहिले पारदर्शी पदार्थमा, कहिले पित्तल त कहिले केमा। अन्तिममा उनले साँच्चैको केरा नै राख्ने निधो गरे।'