सर्वसाधारणको करोडौं रकम ठगीको आरोप लागेका डिएन भनिने दिनेश कोइराला पक्राउ परेका छन्।
दोलखाको मोलुङ गाउँपालिका-९ घर भई काठमाडौं बालुवाटार बस्दै आएका कोइरालालाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेको हो।
उनलाई दुई करोड ७५ लाख ५४ हजार, एक करोड ५४ लाख तथा ५६ लाख रुपैयाँ ठगी भएका छुट्टाछुट्टै चेक बाउन्स मुद्दामा पक्राउ गरिएको अपराध महाशाखाले जनायो।
कोइरालालाई लामो समयदेखि ठगी गर्दै आएको आरोपमा प्रहरीले पटक-पटक प्रहरीले पक्राउ गर्दै आएको छ।
यसपटक परेका तीन वटा चेक बाउन्सका मुद्दामा प्रहरीले कोइरालालाई खोजिरहेको थियो।
प्रहरीका अनुसार दुई करोड ७५ लाख रुपैयाँको टोयटा ल्याण्डक्रुजर गाडी खरिद गर्दा उनले चेक दिएकोमा बाउन्स भएको छ।
यस्तै, एक करोड ५४ लाख रुपैयाँको कम्प्युटर खरिदको भुक्तानीको चेक पनि बाउन्स भएको छ।
कोइरालाबाट ललितपुर भैंसेपाटीका शुलभ कर्माचार्यबाट कम्प्युटर खरिद गरेका थिए।
२०६९ सालमा कार्यालय प्रयोजनका लागि कम्प्युटर खरिद गरेर लगेकोमा उनले पैसा भुक्तानी दिएनन्।
लामो समय भुक्तानी नभएपछि कोइरालाविरूद्ध कर्माचार्य प्रहरीमा गएका थिए।
५६ लाखको अर्को व्यक्तिगत चेक पनि बाउन्स देखिएको छ।
उनलाई तीन वटै चेक बाउन्समा बैंकिङ कसूरसम्बन्धी मुद्दामा अनुसन्धान थालिएको अपराध महाशाखाले जनाएको छ।
कोइरालालाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त कमलपोखरी पठाइएको छ।
गत साल पनि कोइराला पक्राउ परेका थिए। १९ लाख रुपैयाँ ठगेको अभियोगमा खोटाङका श्याम खड्काले दिएको उजुरीउपर कोइरालालाई पक्राउ गरिएको छ।
यीसमेत गरेर अपराध महाशाखामा दुई दर्जन बढी ठगीमा मुद्दा रहेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए।
प्रहरीका अनुसार उनले जनता प्रभावमा पारेर पैसा असुल्दै भाग्दै आएका छन्।
उनले मोरङ, सुनसरी, झापा, इलाम जिल्लाका धेरै जनतालाई प्रभावमा पारेर पैसा ठगेको आरोप छ।
‘एकको दुई (डबल) बनाइदिने र पैसा पाएपछि फरार भएर सर्वसाधारणलाई दु:ख दिएका धेरै उजुरीहरू छन्,’ थापाले सेतोपाटीसँग भने।
कोइरालाले मोरङ पथरीको एउटा सिंगै गाउँका सर्वसाधारण ठगेको उजुरी परेको छ।
कोइरालाले मोरङ विभिन्न व्यक्तिसँग पचास करोड रुपैयाँ बढी ठगेको खुल्नमा आएको छ। तर, पीडितहरू ब्याजको आशमा प्रहरीमा उजुरी दिन नआएपछि कुनै कारबाही हुन नसकेको थापाले बताए।
कोइरालाको मोरङ कानेपोखरी जहदाका उमेश घलेबाट डेढ करोड, अमरदहका कृष्ण धिमालबाट डेढ करोड, इटहरीका सहदेव गुरूङबाट २९ लाख, राजघाटका शिवलाल पुरीबाट ९९ लाख रुपैयाँ ब्याजमा लिएका छन्।
उनले राजघाटकै विष्णु धिमालबाट डेढ करोड, रिता मगरबाट दुई करोड, दीपा धिमालबाट दुई करोड, दुर्गा धिमालबाट ४० लाख, सिजुवाका निर्मल खड्काबाट १ करोड ४० लाख ठगेका छन्।
यस्तै, भक्तपुर काँडाघारीका रामकुमार थापाको चार करोड ठगेको आरोप उनीमाथि लागेको छ।
‘कसैले जग्गा बेचेर ऋण तिरिरहेका छन्, कसैको जग्गा धितोमा छ,’ एसएसपी थापाले भने।
गत साल चेक बाउन्स मुद्दामा कोइराला धरौटीमा छुटेका थिए। त्यतिबेला दर्जनौं मान्छे अपराध महाशाखा आए। तर, कोइरालाले केही ब्याज भुक्तानी दिएपछि सर्वसाधारणले उनीमाथि उजुरी हालेनन्।
‘चानचुन चार करोडजति पैसा यहीँ बाँडिएको थियो, उनी सर्वसाधारणलाई सजिलै मनाउन सक्छन्,’ थापाले भने।
दोलखाबाट ८ कक्षा पढ्दै काठमाडौं आएका उनी यहाँ होटलमा काम गर्दागर्दै जग्गा कारोबारमा लागेको प्रहरी बताउँछ।
त्यसपछि उनले सर्वसाधारण जनता विशेषगरी एकल महिलालाई ब्याजको प्रलोभनमा पारेर ठग्ने गरेको प्रहरी बताउँछन्।