एक सातामा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत दुई प्रहरी घुसकाण्डमा समातिएका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार प्रहरी निरीक्षक जयनेपाल थापालाई घुससहित पक्राउ गरेको थियो। उनी ४० हजार घुससहित खुमलटारबाट पक्राउ परेका थिए।
शुक्रबार फेरि अपराध महाशाखामा कार्यरत् प्रहरी सहायक निरीक्षक उमेश केसीलाई अख्तियारले पक्राउ गरेको हो।
केसीलाई घुसका लागि ‘बार्गेनिङ’ कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको अख्तियार स्रोतले जनायो।
केसीलाई ६० लाख रुपैयाँ घुस मागेको आरोपमा पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।
नख्खु कारागारमा बलात्कारसम्बन्धी मुद्दामा सजाय भोगिरहेका एक अभियुक्तकी श्रीमतीसँग मुद्दा मिलाइदिने भन्दै घुस मागेको अडिओ फेला परेपछि केसीलाई अख्तियारले शुक्रबार पक्राउ गरी हिरासतमा राखिएको स्रोतले बतायो। केसीले सुरूमा ती महिलासँग ६० लाख ‘बार्गेनिङ’ गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।
पछि पटक-पटक गरेर ९ लाखसम्म बार्गेनिङ गरी ती महिलालाई हैरान पारेपछि अख्तियारले केसीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो। असई केसी महाशाखाबाट केन्द्रीय कारागार सुन्धाराको सुरक्षामा खटिएका प्रहरी अधिकृत हुन्।
यसरी मातहतका प्रहरी अधिकृतहरू घुसकाण्डमा पक्राउ पर्दा ‘कमाण्ड कन्ट्रोल’मा बसेको प्रहरी अधिकारीमाथि नैतिक प्रश्न उठ्ने गर्छ। अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको व्यक्तिबारे आफूलाई जानकारी नहुने बताए।
‘रंगेहात समातिएको भए हामी थाहा दिन्छौं, अनुसन्धानका सिलसिलामा पक्राउ परेको व्यक्तिबारे अनुसन्धान नसकिउञ्जेल खुलाउन मिल्दैन,’ कोइरालाले भने।