कृषि विकास बैंक, न्युरोड शाखाको चार करोड हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आठ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
तत्कालीन कर्मचारी दीपिका रेग्मीसहित आठ जनाविरूद्ध आयोगले मंगलबार मुद्दा दायर गरेको हो। मुद्दा दायर हुने अन्यमा प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानी रहेका छन्।
आरोपीमध्ये रेग्मी, ढुंगेल र विष्टलाई जनही चार करोड ४२ लाख ७३ हजार ६११ रूपैयाँ बिगो मागिएको छ। घतानीलाई दुई करोड ६७ लाख ७५ हजार ४३५, गिरीलाई दुई करोड ६१ लाख १९ हजार ४१५ बिगो दावी माग गरिएको छ। यस्तै, रेग्मीसँग एक करोड १० लाख ३३ हजार १९६, मरहठ्ठासँग ६७ लाख २१ हजार र पाण्डेसँग चार लाख रूपैयाँ बिगो मागिएको छ।
आपसी मिलेमतोमा बैंक, बैंकिङ मुख्य शाखा कार्यालय, न्युरोडबाट अनधिकृत रुपमा रकम निकालेर लिने र खाई मास्ने उद्देश्यले उनीहरूले भ्रष्टाचार गरेको अभियोग पुष्टि भएको आयोगले जनाएको छ।
ढुंगेलले आफूले निरीक्षण, सुपरिवेक्षण गर्नुपर्ने कार्यलाई चासो नदिई दीपिका रेग्मीले गरेको अनियमिततालाई साथ दिएको अनुसन्धानमा खुलेको छ।
विभिन्न व्यक्तिहरूको नाममा प्राप्त भएका अकाउन्ट पे चेकहरू इसिसीका माध्यमबाट सम्बन्धित व्यक्तिहरुको खातामा जम्मा गररेको देखिएको अख्तियारले जनाएको छ।
रेग्मीले सही गरी गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डेसमक्ष पेश गरेकोमा उनीहरूले पुनस् प्रयोग गरेको चेक नहेरी सच्याइएको कागजातहरू मात्रैका आधारमा उक्त चेक सदर गरेको देखिएको अख्तियारको दाबी छ।