मदिरा सेवन गरेका युवाहरूबीच मोरङको धनपालथान गाउँपालिका ४ हरकपुरमा ग्याङफाइट चलेको छ।
शनिबार राति दुई पक्षबीच हानाहान हुँदा तीन जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया र २६ वर्षीय किसुन महतो घाइते छन्।
घाइतेमध्ये विसुनदेव र बलरामको चिन्ताजनक अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। किसुन महतोको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार गाउँमै मदिरा सेवनपछि युवाहरूबीच झगडा भएको थियो। सो झगडामा संलग्न धनीराम मुखिया, रामविलास महतो, शंकर महतो, हरिओम महतोलाई प्रहरीले पक्राउ गरेको छ।
धनीराम र हरिओम महतोको समूहबीच ग्याङफाइट भएको थियो। उनीहरूबीच सामान्य भनाभन हुँदै कुटपिट हुन थालेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कुसहरि मण्डलको होटलमा युवाहरू मादक पदार्थ सेवन गर्न बसेका थिए। सोही क्रममा हरिओम र धनीरामबीच विवाद भएको थियो।
होटलबाट निस्किएपछि उनीहरूले आ-आफ्नो समूह भेला पारेका थिए।