मंगलबार धादिङमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुर्घटनामा परेर ११ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको उनले बताए।
घाइते ११ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको उनले जानकारी दिए।
‘केही घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन्’, उनले भने।
ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो।
मृत्यु हुनेहरुमा सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलवहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ र नजबहादुर गुरुङ रहेका छन्। मृतकहरु नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुले टोलका वासिन्दा हुन्।
उक्त ट्रकमा २५ जना थिए।