चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजले आज मंगलबारबाट नियमित उडान गर्ने भएको छ।
जहाजले मंगलबार राति ९ बजेर ५० मिनेटमा दोहा उडान गर्ने नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
कोराना भाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई उद्दार गरेर ल्याएपछि जहाजलाई पनि ४८ घन्टा क्वारेन्टाइनमा राखिएको छ। जहाजको क्वारेन्टाइन अवधि भोलि बिहान सकिने खड्काले जनाइन्।
प्रवक्ता खड्काका अनुसार जहाज भोलि दिउँसो 'डिप क्लिनिङ' गरेर रातिको उडानका लागि तयार पारिनेछ।
'अहिले जहाजको ढोका बन्द गरिएर राखिएको छ। भोलि दिउँसो मज्जाले सफा गरिन्छ, सिटको कपडा सबै अर्को हालिन्छ,' उनले भनिन्।
जहाजलाई विश्व स्वास्थ्य संगठन 'डब्लूएचओ' को मापदण्ड अनुसार नै नियमित उडानमा ल्याउन लागेकाले सुरक्षित रहने भन्दै सबै यात्रुलाई ढुक्क हुन आग्रह पनि गरिन्।
जहाजलाई 'रिमोर्ट पार्किङ बे' मा राखिएको छ।
वुहानबाट नेपाली लिएर जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
जहाजका पाइलटसहित सबै सदस्यलाई पनि क्वारेन्टाइनका लागि चाँगुनारायण नगरपालिकास्थित नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिएको छ।
उद्दार गरेर ल्याइएका नेपालीलाई भने खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा राखिएको छ।